काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वाणिज्य बैंकहरूको पछिल्लो पाँच वर्ष (आर्थिक वर्ष २०७९ देखि २०८३ सम्मको क्रेडिट रेटिङ सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको इक्रा नेपालबाट अद्यावधिक रेटिङ कायम रहेको छ भने बाँकी बैंकहरूको रेटिङ अन्य एजेन्सीबाट गरिएको वा यस सूचीमा समावेश नगरिएको जनाइएको छ ।
सार्वजनिक विवरण अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो वित्तीय मजबुती र साखलाई निरन्तर उच्च तहमा राख्न सफल भएको छ । बैंकले विगत पाँचै वर्षदेखि लगातार सर्वोच्च साख मूल्याङ्कन हासिल गर्दै आफ्नो शीर्ष स्थान कायमै राखेको हो । यसले बैंकको कर्जा जोखिम अत्यन्तै न्यून रहेको र वित्तीय आधार एकदमै बलियो रहेको देखाउँछ ।
त्यसैगरी, नेपाल एसबीआई बैंकले पनि विगत तीन वर्षदेखि आफ्नो रेटिङ मा स्थिरता कायम गर्दै दोस्रो उच्च स्थान ओगट्न सफल भएको छ ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा केही बैंकहरूको रेटिङमा समायोजन हुनुका साथै कतिपयको रेटिङ फिर्ता समेत भएको छ । इक्रा नेपालका अनुसार एभरेस्ट बैंकले र कृषि विकास बैंकले रेटिङ फिर्ता गराएको छ ।
हाल इक्रा नेपालको अद्यावधिक रेटिङ सूचीमा रहेका अन्य वाणिज्य बैंकहरूमध्ये नबिल बैंक र नेपाल बैंकले ए रेटिङ पाएका छन् भने ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ए माइनस रेटिङ पाएका छन् ।
एनएमबी बैंकको रेटिङ ए माइनस, माछापुच्छ्रे बैंकको त्रिबल बी प्लस, सिद्धार्थ बैंकको पनि त्रिबल बी प्लस, सिटीजिन्स बैंकको त्रिबल बी र लक्ष्मी सनराइज बैंकको पनि त्रिबल बी रेटिङ रहेको छ । इक्रा नेपालका अनुसार कुमारी बैंकको डबल बी प्लस र प्रभु बैंकको पनि डबल बि प्लस रहेको छ ।