दूधखोला जलविद्युत आयोजनामा एनएमबी र सानिमा बैंकले १० अर्ब लगानी गर्ने

काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएपछि आयोजना निर्माणको बाटो खुलेको हो ।

सम्झौताअनुसार आयोजनामा लिड बैंकका रूपमा रहेको एनएमबी बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंकका रूपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् । दुई बैंकले आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

मनाङमा निर्माण हुने आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत २० करोड रुपैयाँभन्दा कम रहेकाले आयोजनालाई आकर्षक मानिएको कम्पनीले जनाएको छ । बैंकहरूको लगानीबाहेक आवश्यक रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम अघि बढाउने कम्पनीको तयारी छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य कम्पनीले लिएको छ ।

माउण्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत् आयोजनाबाट हाल नियमित रूपमा विद्युत् उत्पादन भइरहेको छ ।

Share News