डा. महतले रोके सरकारी बैंक मर्ज गर्ने योजना

काठमाडौं, १२ असार । उदारबादी अर्थब्यवस्थाका पक्षपाती भनिने पूर्बअर्थमन्त्री डा. रामशरण महतले सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्था यथाअवस्थामा राख्न लबिङ गरेको तथ्य खुलेको छ । वित्तीय क्षेत्र विकास रणनीतिमा सरकारी स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरु एकिकरण गरेर एउटै बैंक बनाउने रणनीतिलाई डा. महतकै दबाबमा उल्ट्याएर यथाअवस्थामा राख्ने नीति लिइएको खुलेको छ । एशियाली विकास बैंकको आर्थिक र प्राविधिक सहयोगमा तयार पारिएको रणनीतिको मस्यौदामा सरकारी स्वामित्वका बैंक एकिकरण गरेर एउटै बनाउने लक्ष्य लिएको स्रोतले जानकारी दिएको छ । तत्कालिन अर्थमन्त्री डा. महतले यस्तो प्रस्तावलाई संसोधन गर्न लगाएर अहिलेकै अवस्थामा राख्नुपर्ने दबाब दिएका थिए । अहिले सरकारको लगानीमा राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, एनआइडिसी डेभलमपेन्ट बैंक र नेपाल आवाश फाइनान्स कम्पनी संचालनमा छन् । सरकारले यति धेरै बैंक तथा वित्तीय संस्था संचालन गर्दा प्रभावकारी नहुने र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको प्रतिस्पर्धी क्षमता बढेर स्वस्थ कारोवार गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै दातृ निकायहरुले पनि सरकारले बैंक चलाउन नहुने शर्त राखेका थिए । रणनीतिको मस्यौदामा सरकारी स्वामित्वको एउटा मात्रै बैंक बनाउने उल्लेख भएपनि तत्कालिन अर्थमन्त्रीको दबाबमा यस्तो विषय हटाइएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । सरकारी स्वामित्वका संस्थानहरु निजीकरण र खारेजी प्रक्रियामा लगेर निजी क्षेत्र मैत्रीको पहिचान बनाएका डा. महतको यस्तो हर्कतप्रति आफूहरु चकित भएको अर्थका अधिकारीको भनाइ छ । ‘दातृ निकायको दबाब र हाम्रो आफ्नै अनुभवले पनि सरकारले बैंक चलाउनु हुदैन भन्ने तथ्य उजागर भएको थियो, तर निजीकरण र उदारिकरणका पक्षपाति मानिने डा. महतकै दबाबमा एउटै सरकारी बैंक बनाउने योजना भने हटाइयो,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने । यसअघि सरकारले विश्व बैंकवाट ऋण सहयोग लिएर संचालन गरेको वित्तीय क्षेत्र सुधार कार्यक्रममा पनि बैंक तथा वित्तीय संस्थामा सरकारले गरेको लगानी फिर्ता गर्ने भन्ने शर्त थियो । सो कार्यक्रम सकिएको छ । सोही सुधार कार्यक्रमले नै नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको आर्थिक अवस्था सुधार भएको थियो । एशियाली विकास बैंकको आर्थिक र प्राविधिक सहयोगमा तयार पारिएको रणनीतिको मस्यौदा अन्तिम अवस्थामा पुगेको छ । मन्त्रिपरिषदवाट पारित भएपछि कार्यान्वयनमा जाने सो रणनीतिमा बैंकिङ क्षेत्र, बीमा र पूजी बजारको विकासका लागि अब सरकारले कस्तो नीति र कार्यक्रम तय गर्नेछ भन्ने उल्लेख छ । अर्थमन्त्रालयका अधिकारीहरु पनि सरकारले धेरैओटा बैंक तथा वित्तीय संस्था संचालन गरिरहनुको औचित्य नदेखिएको बताउछन् । ‘सरकारको शतप्रतिशत लगानीमा राष्ट्रिय बाणिज्य बैंक छ, फेरि सोही प्रकृतिको काम गर्ने कृषि विकास बैंक, नेपाल बैंक, एनआइडिसी डेभलमपेन्ट बैंक वा नेपाल आवाश फाइनान्स कम्पनी संचालन गरिरहनुको औचित्य छैन, यसमा पुनर्विचार भए राम्रो हुने थियो, अर्थमन्त्रायका एक उच्च अधिकारीले भने । डा. महतकै कारण गरिएको परिवर्तन पुन सच्याउन अहिलेका अर्थमन्त्री पनि तयार नभएको स्रोतले जानकारी दिएको छ । निजीकरण र उदारिकणका अभियान्ता मानिएका डा. महत नै सरकारी लगानीका बैंक यथाअवस्थामा राख्न इच्छुक देखिएको अवस्थामा एमालेको तर्फवाट अर्थमन्त्री बनेका विष्णु पौडेल पनि तयार भएको बताइएको छ । ‘एमालेको नीति नै सरकारले बैंक तथा वित्तीय संस्था चलाउनु पर्छ भन्ने हो, डा. महतले गरेको परिवर्तन हाम्रो पार्टीको नीति अनुरुप नै भएकोले पुन सच्याएर विवादमा पर्नु उपयुक्त हुदैन भनेर अर्थमन्त्रीज्यूले भन्नुभयो,’ स्रोतले भन्यो । सरकारले नै बैंक संचालन गर्दा त्यस्ता बैंकमा पुन आर्थिक समस्या देखिए त्यसले राज्यलाई नै भार पार्ने चिन्ता अर्थका अधिकारीको छ ।

दश अर्बको ऋणपत्र जारी, बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने

काठमाडौँ, १२ असार । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ ।तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ । ऋणपत्र भने बोलकबोलबाट बिक्री वितरण गरिने जनाइएको छ । आइतबार अहराह्न ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त ऋणपत्र खरिद गर्न सक्ने जनाएको छ । ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन मार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बोलकबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको बैंकले सार्वजनिक गरेको सूचनामा जनाइएको छ । ऋणपत्रको ब्याजदर भने हरेक छ महिनामा भुक्तानी दिइने छ । उक्त पत्र खरिद गर्न चाहनेले रु एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी रु १० अर्बसम्मका लागि आवेदन दिन सकिने छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोका रुपमा ऋणपत्र राख्न सकिने छ । पछिल्लो समय लगानीका अवसर निर्माण हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल रु एक खर्ब बढीको तरलता छ । तरलता व्यवस्थापन गर्न अनेकौँ उपाय अवलम्बन गर्दै आएको बैंकले व्याजदर घटाएर भए पनि लगानी बढाउन अन्य बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै आएको छ । रासस

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलाममा

काठमाडौं, ९ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । उक्त सेवा बैंकको इलाम शाखाका प्रमुख राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले बिहीबार एक समारोहकाबीच उद्घाटन गरेका छन् । सो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सुरेन्द्र राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने रेग्मीले बताएका छन् । बैंकका अनुसार बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ६ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने बैंकले बताएको छ ।