लुम्बिनी बैंकबाट शोभनदेब बाहिरिए

काठमाडौं, २० असार । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेब पन्तले बैंक छोडेका छन् । बैंक अफ काठमाडौं (विओके) र लुम्बिनी बैंक मर्जरको प्रक्रिया अगाडि बढेपछि पन्तले बैंक छोडेका हुन् । पन्त विगत १० बर्षदेखि सो बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । लुम्बिनी बैंक समस्यामा परेपछि नेपाल राष्ट्र बैंकले ब्यवस्थापन आफैले लिएर सुधारको प्रक्रिया अगाडि बढाएको थियो । सुरुको समयमा राष्ट्र बैंकको तर्फवाट नारायणदास मानन्धरले ब्यवस्थापन प्रमुखको जिम्मेवारी पाएका थिए । मानन्धरको एक कार्यकाल पूरा भएपपछि राष्ट्र बैंकले पन्तलाई बैंक ब्यवस्थापनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी अनुसार पन्तले बैंकको वित्तीय स्वास्थ्य राम्रो बनाएका थिए । पन्तले आइतवार (हिजो) देखि बैंकबाट विदा लिएका हुन् ।

सिद्धार्थ बैंकको सिइओ सुरेन्द्र भण्डारीको एक कार्यकाल थपियो

काठमाडौं, १९ असार । सिद्धार्थ बैंक लिमिटेडका सिइओ सुरेन्द्र भण्डारीको एक कार्यकाल थपिएको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा भण्डारीको कार्यकाल थप्ने निर्णय गरेको हो । भण्डारीले प्रमुख कार्यकारी अधिकृत भएर यो बैंकका एक कार्यकाल पुरा गरिसकेका छन् । आइतबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै चार वर्ष सो बैंकको सिइओ भएर काम गर्ने छन् ।

बिओकेको एकै पटक ८ शाखारहित बैंकिङ

काठमाडौं,१८ असार । बैंक अफ काठमाण्डू लिमिटेडले एकै साथ ८ वटा स्थानहरुबाट शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको प्रतापपुर–२, प्यूठान जिल्लाको बाङ्गेसाल–७ र ढुङ्गेगढी–३, दाङ्ग जिल्लाको सिसनीया–०५, बर्दिया जिल्लाको पाताभार–९ र मनाउ–५, नवलपरासी जिल्लाको तिलकपुर–६ र रुपन्देही जिल्लाको सिक्टन–६ मा शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको हो । बैंकले यी ८ स्थानहरु बाहेक विभिन्न थप स्थानहरुमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । हाल सम्म बैंकले ३३ स्थानहरु बाट शाखा रहित बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । युकेएड अन्तर्गत सक्षम कार्यक्रमले आपm्नो वित्तीय पहुंच कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई बैंकिङ्ग कारोबारमा सहभागी गराउने उद्देश्यले बैंक अफ काठमाण्डूको सक्रियतामा २४ वटा विभिन्न ठाउँमा शाखा रहित सेवा केन्द्रको स्थापना गर्न सहयोग गरेको छ ।