सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापामा
काठमाडौं, २८ असार । सनराइज बैंक लिमिटेडले झापामा दुई वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले झापा जिल्लाको वडा नम्बर ६ स्थित बुधवारे र वडा नम्बर ९ स्थित खुदुनाबारी शुरू गरेको छ । बैंकको विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द्र दत्त, नेपाल बैंकका पूर्व अवकाश कर्मचारी गिरी राज दाहाल र बुद्घ आर्दश उच्च माविका प्रधानाध्यापक धन कुुमार श्रेष्ठले बुधवारेमा उद्घाटन गरेका हुन् । साथै खुदुनाबारीमा सुनौलो व्यापारीक समूहका अध्यक्ष हेम राज आचार्य र जनता उच्च माविका प्रधानाध्यापक जय प्रसाद भण्डारीले उद्घाटन गरेका हुन् । बैंकको विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द्र दत्तले दुवै शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उदेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको बुधवारेका प्रतिनिधि मञ्जू कडेल तथा खुदुनाबारीका प्रतिनिधि नरेन्द्र कुमार श्रेष्ठललार्ई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिन्छ ।
हरेक साता निक्षेपको व्याजदर बढ्दै, पहिलो असर सेयर बजारमा पर्न सक्ने
काठमाडौं, २८ असार । कुमारी बैंकले ७० दिनको मुद्दती खातामा ७ प्रतिशत व्याजदर घोषणासहित निक्षेपको अपिल गरेको छ । ७० दिन अवधिको मुद्दतीमा न्यूनतम १ लाख बचत गर्नेले ७ प्रतिशत व्याज पाउने छन् । व्यक्तिगत निक्षेपकर्ताको लागि मात्र यो योजना ल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले दिएको निर्देशक अनुसार बैंकहरुले घोषित व्याजदरमा १ प्रतिशत थप गरेर निक्षेप स्वीकार गर्न सक्नेछन् । यस आधारमा बढी रकम देखाएर मोलमोलाई गर्ने बचतकर्ताले ८ प्रतिशतसम्म व्याज पाउने देखिएको छ । बैंकहरुले गत सातादेखि संस्थागत निक्षेपकर्तालाई ७.७५ प्रतिशत व्याज दिन थालेका छन् । विगत एक महिनादेखि बैंकहरुले छोटोछोटो अवधिमा व्याजदर बढाउन थालेका छन् । प्रत्येक साता करिव शुन्य दशमलव २५ प्रतिशतले व्याजदर बढ्दै गएको छ । कर्जाको माग बढेको र लगानी योग्य पुँजीको कमी भएकोले निक्षेपको व्याजदर बढेको बैंकर्सहरुले बताएका छन् । पछिल्लो समय वित्तीय बजारमा कर्जा निक्षेप अनुपात हाल ८० प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैले बैंकको व्याजदर अझै बढ्न सक्ने अनुमान गरिएको छ । करिव ५ वर्षपछि निक्षेपकर्ताले उच्चतम व्याज पाउन थालेका छन् । यद्यपी अहिले बजारमा चलेको व्याजदर मुद्रास्फिति दरभन्दा कम छ । चालु आर्थिक वर्षको मुद्रास्फिति ९ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहदा मुद्रास्फिति दरभन्दा निक्षेपको व्याजदर बढी हुने गरी नीति बनाउन विज्ञहरुले सुझाव दिईरहेका छन् । निक्षेपको व्याजदर वृद्धिले कर्जाको व्याजदरलाई पनि बढाउँछ । यसले उद्योगको उत्पादन लागत बढाउनुको साथै सेयर र घरजग्गाको मूल्य वृद्धिलाई रोक्ने छ । व्याजदर वृद्धिको असर सबैभन्दा पहिले सेयर बजारमा पर्न सक्छ । उच्चतम विन्दुमा पुगेको सेयर बजारमा गिरावट आउने सम्भावनाहरु बढेर गएका छन् ।
हाम्रो विकास बैंकको कार्यकारी प्रमुखमा नयाँ सिईओ
पारसराज कँडेल काठमाडौं, २७ असार । हाम्रो विकास बैंकले पारसराज कँडेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । उनी यसअघि सीभिल बैंकमा मेनेजर थिए । भारतको इन्स्टिच्यूट चार्टर्ड एकाउण्टबाट सिए गरेका कँडेल विभिन्न कम्पनीका अडिट गर्ने, पढाउने, कन्सल्टेन्सि सेवा जस्ता कार्य गर्दै आएका थिए । यसअघि हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका कपिल ढकालले असार २६ गते राजीनामा गरेका छन् । उनको राजीनामा साउन ७ गतेदेखि लागू हुने गरि स्वीकृत गरिएको र सोही मितिबाट लागू हुने गरि कँडेललाई नियुक्त गरिएको बैंकले जनाएको छ । नयाँ सिईओ नियुक्तीपछि हाम्रो विकास बैंकको व्यवस्थापनमा असन्तुष्टि देखिएको छ ।