बैंक अफ काठमाण्डू लुम्बिनीको सीईओमा अजय श्रेष्ठ नियुक्त

काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जभएर आजदेखि एकिकृत कारोबार शुरु गरेको बैंक अफ काठमाण्डू लुम्बनीको प्रमुख कार्यकारी अधिकृत पदमा अजय श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जपछि बनेको सञ्चालक समितिको असार २९ गते बसेको  बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठले विगत ८ वर्षदेखि बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । ‘श्रेष्ठको कार्यशैली र प्रर्फमेन्स दुबै राम्रो थियो । नयाँ बोर्डले आगामी चार वर्षको लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको छ’ बैंकका एक सञ्चालकले विकासन्युजसँग भने । शालीन, सरल र मिहेनती बैंकर्सको रुपमा उनलाई धेरैले चिन्ने गरेका छन्। तत्कालीन ग्रिण्डलेज बैङ्कमा सहायकस्तरको कर्मचारीबाट सेवा शुरू गरेका उनले बैकिङ क्षेत्रमा तीन दशक काम गरिसकेका छन् । श्रेष्ठले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । २० वर्ष पुरानो बैंक अफ काठमाण्डू र १८ वर्ष पुरानो लुम्बिनी बैंक मर्जपछि आजबाट एकिकृत कारोबार शुरु गरेको छ । एकिकृत कारोबारको उद्घाटन राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवि नेपालले गरेका छन् ।

लघुवित्तको लाइसेन्स माग्दै सयभन्दा बढी आवेदन

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षदेखि लघुवित्त संस्थाको लाइसेन्स दिन रोक्ने चर्चा चलेसँगै यस्तो संस्था संचालनको अनुमति माग्नेको भिड लागेको छ । गत मंगलवार मात्रै लघुवित्त संचालनको अनुमतिका लागि १० नयाँ आवेदन परेको छ । नयाँ कम्पनी दर्ता रोकिनुअघि नै दर्ता भएका कम्पनीले लाइसेन्स पाउने आशामा यसरी कम्पनी दर्ताको संख्या बढेको हो । यद्यपि लाइसेन्स रोकिदा अहिले दर्ता भएका कम्पनीलाई अनुमति दिने वा नदिने र लाइसेन्स नै रोक्ने नरोक्ने सम्बन्धमा राष्ट्र बैंकले कुनै जानकारी दिएको छैन । ‘वित्तीय सेवा नपुगेका ठाउको लागि भनेर लघुवित्तको लाइसेन्स खुल्ला राखिएको हो, अन्य बैंक वित्तीय संस्था भएकै ठाउमा लघुवित्त खोल्ने र सेयर मूल्य माथि पुर्याएर रातारात धनी हुने प्रवृत्ति मात्रै देखिएकोले रोक्ने कि भन्ने चर्चा चलेकै हो, तर निर्णय मौद्रिक नीतिमा आउछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । ‘लघुवित्तको लाइसेन्स रोक्ने हल्ला चलेपछि मंगलबार मात्रै १० नयाँ कम्पनीको इजाजत माग्दै निवेदन परेको छ, एक महिना अगाडिसम्म ४० कम्पनी अनुमति माग्दै पाइप लाइनमा थिए, अहिले यस्तो संख्या सय नाघ्यो,’ ती अधिकारीको भनाइ छ । राष्ट्र बैंकले विहिवार अपरान्ह मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरे पनि त्यस्तो तयारीको जानकारी अझै दिएको छैन । मौद्रिक नीति मार्फत अनिवार्य नगद अनुपात (सिआरआर) शुन्य दशमलब ५ प्रतिशतले बढाउने चर्चा चलेको छ । यस्तै तरलताको दीर्घकालिन ब्यवस्थापनको लागि रिपो र रिभर्स रिपोको ब्यवस्था खुल्ला राख्ने नीतिगत ब्यवस्था हुन सक्ने बताइएको छ ।

एनसीसी र आईडी बैंकको विशेष साधारणसभा सम्पन्न, मर्ज प्रस्ताव पारित

काठमाडौं, ३० असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले अन्य पाच वटा सस्थासँग गाभ्ने गाभिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि इन्फ्रास्ट्रक्चर डेभलपमन्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट (आईडी) बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट विशेष साधारण सभा गरेर मर्जको प्रस्ताव पारित गरिसकेका छन् । सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न/गराउन बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मर्जर प्रयोजनको लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षकले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए रिपोर्ट) अनुसार सेयर स्वाप रेसिया पनि साधारण सभाले पारित गरेको छ । नेटवर्थका आधारमा एनसीसी बैंक लि. को एक शेयर बरावर कुमारी बैंक लि. को एक शेयर, (१ः१), इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात तीन शेयर (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैकको शुन्य दशमलव चार आठ शेयर (१ः०.४८) र सुप्रिम डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७) हुनेगरी स्वाप रेसियो सम्बन्धी विशेष प्रस्ताव पारित गरेको जनाइएको छ ।