काठमाडौं । आज बुवाको मुख हेर्ने दिन । आफ्ना सन्तानको सफलतामा खुसी हुने, उनीहरूका असफलतामा काँध थाप्ने र कठिन परिस्थितिमा पनि भरोसाको बलियो आधार बनेर उभिने बुवाहरूलाई सम्झिने दिन । यही अवसरमा नबिल बैंकले सार्वजनिक गरेको भावुक भिडियो सन्देशले बुवाको त्यही निःस्वार्थ भूमिकालाई स्मरण गराएको छ ।
‘सन्तानका सपनालाई आफ्नो सपना बनाउने, सन्तान लड्दा हात समाउने र आफू थाकेर पनि सन्तानका लागि सधैँ बलियो भएर उभिने बुबा केवल एउटा सम्बन्ध होइन, जीवनभरको भरोसा हुनुहुन्छ’ भन्दै बैंकले सम्पूर्ण बुवाप्रति सम्मान व्यक्त गरेको हो ।
तर बुवाको मुख हेर्ने दिन केवल पारिवारिक खुसी र शुभकामनाको दिन मात्रै होइन । कतिपय बुवाका लागि यो दिन वर्षौंदेखि बोकेको संघर्ष, डर, पीडा र सन्तानप्रतिको असीम मायालाई सम्झिने अवसर पनि हो ।
यस्तै एउटा कथा हो एक बुवाको, जसले आफ्नो छोरालाई संसारको ‘मानक’ अनुसार बदल्न खोज्ने सोचबाट यात्रा सुरु गरे । तर समयसँगै उनको सोच बदलियो । अन्ततः उनले बुझे, छोरालाई संसारअनुकूल बनाउनुभन्दा संसारलाई नै आफ्नो छोरालाई बुझ्ने बनाउन आवश्यक रहेछ ।
‘मेरो छोरो बिरामी होइन, ऊ संसारलाई फरक तरिकाले महसुस गर्छ ।’ यी शब्दमा ती बुवाको वर्षौंको अनुभव, संघर्ष र छोराप्रतिको बुझाइ लुकेको छ । हरेक बुवाजस्तै उनले पनि छोराका लागि थुप्रै सपना देखेका थिए । छोरोले पहिलोपटक ‘बाबा’ भन्ला, पहिलो दिन स्कुल जाँदा रोला, दशैंमा नयाँ लुगा लगाएर रमाउला- उनका कल्पनाहरू पनि अरू बुवाका जस्तै थिए । तर समय बित्दै जाँदा उनले महसुस गरे, उनका छोराको संसार अरू बालबालिकाको भन्दा फरक रहेछ ।
मान्छेहरू घरमा आउँदा छोरो लुक्थ्यो । कसैले बोलाउँदा हेर्दैनथ्यो । भीडभाड भयो भने कान थुनेर बसिहाल्थ्यो । छोराको व्यवहार देखेर वरपरका मानिसहरू प्रश्न गर्थे- के भयो यसलाई ? ‘आजकलका बच्चालाई अलि कडा भएर हुर्काउनुपर्छ । मोबाइल अलि बढी भएजस्तो छ ।’ सल्लाह दिनेहरू धेरै थिए । तर छोराको व्यवहारभित्रको कारण बुझ्नेहरू भने कमै थिए ।
यस्ता टिप्पणीहरूले ती बुवालाई कहिलेकाहीँ डराउँथे । समाजसँग भन्दा पनि आफ्नो बच्चाले यही समाजमा कसरी आफूलाई सम्हाल्ला भन्ने चिन्ता उनलाई बढी हुन्थ्यो । किनकि उनको छोरो आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्दैनथ्यो । तर बुवाले उसको आँखामा केही देख्थे- एक किसिमको थकान ।
अन्ततः उनले थाहा पाए, उनका छोरा अटिजम स्पेक्ट्रममा छन् । त्यसपछि भने उनको बुझाइ बदलियो । ‘मेरो छोरो अरू बच्चाजस्तो छैन’ भन्ने सोच विस्तारै ‘मेरो छोरो पनि एउटा सामान्य बच्चा हो, उसले संसारलाई फरक तरिकाले महसुस गर्छ’ भन्ने बुझाइमा बदलियो । उसका लागि ठूलो आवाज असहज हुन सक्छ । भीड भारी लाग्न सक्छ । आफ्ना भावनाहरू शब्दमा व्यक्त गर्न कठिन हुन सक्छ । तर त्यसको अर्थ उसको माया कम छ भन्ने होइन । बरु उसको माया अभिव्यक्त गर्ने तरिका फरक छ ।
‘पहिले म चाहन्थेँ, ऊ संसारजस्तो बनोस् । तर अहिले म संसारलाई उसको लागि अलिक राम्रो बनाउन चाहन्छु ।’ यो एउटा बुवाको सोचमा आएको ठूलो परिवर्तन हो । सन्तानलाई संसारअनुकूल बनाउने प्रयासबाट संसारलाई नै सन्तानअनुकूल बनाउनुपर्छ भन्ने यात्रासम्म आइपुग्दा उनले एउटा कुरा बुझेका छन्- हरेक बच्चा एउटै हुँदैन । तर हरेक बुवाको आफ्नो सन्तानप्रतिको चाहना भने उस्तै हुन्छ ।
सन्तानले दुःख नपाओस् । उसलाई कसैले हेप्न नपरोस् । उसले आफूलाई अरूभन्दा कम महसुस गर्न नपरोस् । छोराले उनलाई धेरैपटक ‘बाबा’ भन्न नसक्ला । तर जब ऊ आएर बुवाको हात समाउँछ, त्यो स्पर्श नै उनका लागि संसारकै ठूलो शब्द बन्छ । बुवाको भूमिका सधैँ बोलिरहने वा बाटो देखाइरहने मात्रै हुँदैन । कहिलेकाहीँ त्यो भूमिका चुपचाप सन्तानको छेउमा उभिएर उसको संसार बुझिदिनु पनि हो । आफूभित्रका अनेकौं डर र संघर्ष लुकाएर सन्तानका कठिनाइमा भरोसा बन्नु पनि हो ।
आज बुवाको मुख हेर्ने दिनमा नमन ती सबै बुवाहरूलाई, जो आफ्ना सन्तानका लागि आफूभित्रका अनेकौं लडाइँ लडिरहेका छन् । ती बुवाहरूलाई, जसले समाजका प्रश्नभन्दा माथि उठेर आफ्ना सन्तानको मौन भाषा बुझिरहेका छन् । र ती बुवाहरूलाई पनि, जसले सन्तानलाई संसारजस्तो बनाउनुभन्दा संसारलाई नै सन्तानका लागि अलिक सहज, संवेदनशील र स्वीकार्य बनाउन चाहिरहेका छन् । हरेक बच्चा फरक हुन्छ । तर हरेक बुवाको माया उस्तै हुन्छ ।