सिटिजन्स बैंकले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने, हकप्रद सेयरले बोनस नपाउने
काठमाडौं, १३ भदौ। सिटिजन्स बैंक इन्टरनेसनलले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २४.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । ‘भदौ १३ गते बसेको संचालक समितिको २१४ औं बैठकको निर्णय बमोजिम आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’ बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सञ्चालक समितिको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने छ । आर्थिक वर्ष २०७२/७३ मा बैंकले खुद नाफा १ अर्ब १० करोड ९८ लाख आर्जन गरेको थियो । आर्थिक वर्षको अन्त्यमा निश्काशन गरेको हकप्रद सेयरले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश नपाउने भएको छ ।
लक्ष्मी बैंकको नयाँ शाखा मध्य पश्चिमको रुकुम र जाजरकोटमा
काठमाडौं, १३ भदौ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा रुकुमको चौरझारी र जाजरकोटको खलङ्गामा शुभारम्भ गरेको छ । सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले मध्य पश्चिमको चौरझारी र खलङ्गामा सो शाखा सञ्चालनमा ल्याएको हो । यस शाखाको विस्तार सँगै बैंकले बैकिंङ्ग क्षेत्रमा पिछडिएका क्षेत्रका ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादान गर्ने लक्ष्य राखेको छ । साथै, बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकका अनुसार अब बैंकको शाखा संजाल ५२, २ विस्तार काउन्टर अनि ७१ वटा एटिएम पुगेको छ । यी शाखाहरुका साथै बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकका अनुसार आ.व. २०७१/७२ मा ४८ अर्ब ८५ करोड निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
रिलायबल डेभलपमेन्ट बैंकको हायर पर्चेज कर्जामा विशेष योजना
काठमाडौं, १३ भदौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले निजि तथा सार्वजनिक सवारीसाधनहरु जस्तै कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटर आदि खरिद गर्नको लागि कर्जा लगानी गर्ने जनाएको छ । बैंकका अनुसार कागजात पेश गरेको ५ कार्यदिन भित्र कर्जा उपलब्ध गराइने छ । यस योजना अन्तर्गत वार्षिक ब्याजदर ९५ देखि सुरु रहने छ । साथै, यो योजना बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।