आरम्भ माइक्रोफाइनान्सले शतप्रतिशत पूँजी बढाउने
काठमाडौं, १९ भदौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बिशेष साधारणले शतप्रतिशत पूँजी बढाउने निर्णय गरेको छ । बैंकको भदौ १८ गते सम्पन्न बिशेष साधारण सभाले हाल कायम रहेको एक करोड २ लाख चुक्ता पुँजीलाई बढाएर २ करोड ४ लाख पुर्याउने निर्णय गरेको हो । कम्पनीले जारी पूंजी पनि २ करोडलाई वृद्धि गरी ४ करोड पुरयाउने निर्णय पनि गरेको हो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ८ स्थित केन्द्रीय कार्यालय रहेको कम्पनीले विभिन्न १० वटा पहाडी जिल्लाहरुमा १३ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थाले हाल कार्यक्षेत्र रहेकै जिल्लाहरुमा आगामि तिन महिना भित्र कम्तिमा दुई वटा शाखाहरु थप गरि शाखा संख्या १५ पुरयाउने लक्ष्य लिएको छ । यसका अतिरिक्त संस्थाले थप ५ पहाडी जिल्लाहरुमा समेत आफनो कार्यक्षेत्र विस्तार गरि लघुवित्तीय सेवा उपलव्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।
नेपाल बंगलादेश बैंकले ३३ प्रतिशत लाभांश दिने
काठमाडौं, १९ भदौ । नेपाल बंगलादेश बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलब ६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा लाभांश वितरण गर्नेछ । गत आर्थिक वर्षमा एक अर्ब बढी नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाउन सफल भएको थियो ।
नेपाल बैक प्युठान शाखा लुट्ने प्रयास, स्पे्रमार्फत चौकीदार बेहोस
प्युठान, १८ भदौ । नेपाल बैंक शाखा कार्यालय प्युठान लुट्ने प्रयास शुक्रबारअसफल भएको छ । साँझ बैंकका चौकीदारलाई स्पे्रमार्फत बेहोस बनाई बैंक लुट्ने प्रयास असफल भएको हो । लुटेरा कार्यालय समय सकिएपछि बैंकमा आफ्नो मोबाइल छुटेको बहाना बनाउँदै बैंकमा छिरेको बताइएको छ । अहिले लुटेराको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनास्थलमा अहिले सहायक प्रजिअ भूपबहादुर पुनसहित जिप्रकाबाट बाक्लो मात्रामा सुरक्षाकर्मी आएका छन् । लुटेराले चौकीदारलाई बेहोस बनाउन नसकेपछि तत्काल भागेको बताइएको छ । लुटेराले साथमा लिएको अन्दाजी आठ थान बैंकको नगद राख्ने ठाउँ काट्ने हेक्जाब्लेड, चार थान हातमा लगाइने पञ्जा लगायत बैंक लुट्नका लागि प्रयोग हुने सामग्रीसहितको झोला बैंकमै छाडेका छन् । चौकीदारले आफूमाथि एक्कासि आक्रमण भएकाले लुटेराको पहिचान गर्न नसकिएको बताएका छन् । नेपाल बैंक प्युठान शाखाका प्रमुख विभागको तालिमका लागि भन्दै जिल्ला बाहिर रहेका छन् । त्यस्तै निमित्त कार्यालय प्रमुख पनि कार्यालय समयपछि घर गएका समयमा बैंक लुट्ने प्रयास भएको हो । बैंक लुट्नका लागि प्रयोग भएका सामानले गर्दा शृङ्खलाबद्ध तरिकाले बैंक लुट्न खोजिएको जस्तो देखिएको छ । बैंक लुट्ने प्रयास गर्नेमा कम्तीमा चारदेखि १० जनासम्मको संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ । रासस