प्राइम बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल थपियो
काठमाडौं, ६ असोज । प्राइम कर्मसियल बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल तीन वर्ष थपिएको छ । भदौ २५ गते बसेको बैंकको २८६औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मानन्धरको समय थप्ने निर्णय गरेको हो । मानन्धरले प्रमुख कार्यकारी अधिकृत भएर बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै तीन वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।
ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा कैलालीमा
काठमाडौं, ६ असोज । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बिहीबारदेखि बैंकले कैलाली जिल्लाको ओलानी र सोल्टामा उक्त सेवा शुरु गरेकोे हो । उक्त दुई सेवाको बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरेका छन् । बैंकिङ्ग सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको बैंकले जनाएको छ । उक्त सेवाको सञ्चालन पछि स्थानिय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । बैंकले ओलानीमा शुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय नविन बहादुर सिंह र सोल्टामा गरेको सेवाको लागि स्थानिय हिरादेवि जैसीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कैलालीमा शुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आधारभुत बंैकिङ्ग सेवा पुर्याउदै आएको छ । यस संगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ्ग सेवा पुगेका छन् ।
यतीको ब्राण्ड एम्बेसडरमा महर्जन नियुक्त
काठमाडौं, ६ असोज । यती डेभलपमेण्ट बैंकले २ बर्षको लागी ब्राण्ड एम्बेसडरमा महेश्वर महर्जनलाई नियुक्त गरेको छ । खेलाडीको उच्च कदर गर्दै खेलाडीको मनोबल बृद्धि गर्ने उद्देश्यले बैंकले महर्जनलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको हो । महर्जनले शरीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक प्राप्त गरेका थिए । भुटानमा भएको प्रतियोगिता अन्तर्गत ७५ के.जी. तौल समुहमा महर्जनले १० देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम स्थान हांसिल गरेका थिए ।