सिद्धार्थ डेभलपमेण्ट बैंकको तिनकुने शाखा ललितपुरमा स्थानान्तरण

काठमाडौं, १६ असोज । सिद्धार्थ डेभलपमेण्ट बैंकको काठमाडौंको तिनकुनेमा स्थित शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका छन् । एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसंग मर्जर पश्चात साविक नेपाल आवास फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय भएको सुविधानगर शाखा कुमारीपाटीमा स्थानान्तरण भएको हो । बैंकका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त समारोहमा डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार तथा वित्तीय स्थायीत्व कायम गर्न केन्द्रित रहेको बताउदै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले तोकेकै समय सीमा भित्रै चुक्ता पूँजी पुर्याउन आग्रह गरेका छन् । साथै उनले बैंक तथा बित्तीय संस्थालाई संस्थागत सुशासनमा ध्यान पुर्याउन र गाउं केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । बैंकको असार मसान्तसम्म १२ अर्ब ३२ करोड रुपैयाँ निक्षेप, १० अर्ब ५८ करोड रुपैयाँ कर्जा तथा१ अर्व १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सो अवधिसम्म बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्ना शेयरधनीहरुलाई २४ बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले ३३ शाखा कार्यालय मार्फत १ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

सिभिल र आइएलएफसीको एकिकृत कारोवार १ कात्तिकमा

काठमाडौं, १६ असोज । सिभिल बैंक र इन्टरनेसनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी (आइएलएफसी) को मर्जर सम्पन्न भएको छ । मर्जर सम्पन्न भएको कारण दुबै संस्थाले सिभिल बैंकको नामवाट आगामी १ कात्तिकदेखि एकिकृत कारोवार संचालन गर्ने भएका छन् । दुबै संस्थाले आइतवार सार्वजनिक सुचना प्रकाशित गरी यस्तो जानकारी दिएका हुन् । १ कात्तिकदेखि एकिकृत कारोवार गर्ने हुनाले डाटा माइग्रेसनको लागि दुबै संस्थाको बैंकिङ कारोवार बन्द गरिने भएको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहने भएकोले आइएलएफसीको चेक लिएका ग्राहकले एकिकृत कारोवारपछि सो चेक फिर्ता गरेर सिभिल बैंकको चेक लिनुपर्ने भएको छ । तर चेक पूर्ण रुपमा प्रतिस्थापन भइनसकेको अवस्थासम्ममा दुबै संस्थाले जारी गरेका चेकबाट कारोवार गर्न सकिने अल्पकालिन ब्यवस्था मिलाइएको छ । १ कात्तिकदेखि आइएलएफसीको एटिएम तथा डेविट कार्ड भने प्रयोग गर्न नमिल्ने भएको छ । १ कात्तिकदेखि आइएलएफसीको डेविट कार्ड र एटिएम कार्डवाट रकम झिक्न नमिल्ने भएकोले सो दिनदेखि सिभिल बैंकको नजिकको शाखामा गएर सिभिल बैंकको मास्टर कार्ड लिनुपर्ने भएको छ ।

प्राइमको हकप्रद भर्ने आज अन्तिम दिन, हुलाक मार्फत पनि पठाउन पाइने

काठमाडौं, १६ असोज । प्राइम कमर्शियल बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । ३ कित्ता सेयर हुने १ कित्ता हकप्रद भर्न पाउने ब्यवस्थामा आज त्यस्तो सेयरको माग नगरे पाउनु हुने छैन । बैंकले गत १२ भदौदेखि हकप्रद निस्कासन खुल्ला गरेको थियो । बैंकको हकप्रद सेयर निस्काशनको विक्री प्रबन्धक सिभिल क्यापिटलले १६ असोजमा सार्वजनिक सुचना प्रकाशित गरेर आज हकप्रद भर्ने अन्तिम दिन भएको स्मरण गराएको छ । बैंकको अहिले सेयरमूल्य प्रतिकित्ता ६ सय रुपैयाँभन्दा माथि छ । हकप्रद भर्नेले १ सय रुपैयाँमा एक कित्ता पाउनेछन् । गत १९ साउनसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् । हकप्रद भर्नको लागि प्राइम बैंकका सवै शाखा तथा सिभिल क्यापिटलको कार्यालय र सिभिल क्यापिटलको नाममा खिचिएको एकाउन्टपेयी ड्राफ्टका साथमा सेयरको दरखास्त फाराम हुलाक सेवा मार्फत रजिस्ट्री गरेर वा कुरियर मार्फत पनि सिभिल क्यापिटलको ठेगानामा पठाउन सकिनेछ । तर सेयर विक्री बन्द भएको १५ दिन पछि प्राप्त हुने ड्राफ्ट र आवेदन फारमलाई बाँडफाँडमा समावेश नगरिने सिभिल क्यापिटलले जानकारी दिएको छ ।