एनएमबी बैंकले ‘एक घर एक खाता’ अभियान सञ्चालन गर्ने, राजेश हमाल ब्राण्ड एम्बेसडरमा नियुक्त
काठमाडौं, २९ भदौ । एनएमबी बैंक लिमिटेडले ‘एक घर एक खाता’ अभियानलाई प्रर्वद्धन गर्न महान् अभिनेता राजेश हमाललाई प्रवद्र्धक दूत (ब्राण्ड एम्बेस्डर)को रुपमा नियुक्त गरेको छ । यस बैंकले एक घर एक खाता अभियान गत साउनदेखि नै शुरु गरेको छ । एनएमबी बैंक एक घर एक खाता अभियानको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने–‘नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्बद्धक दूतका रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यान्तै हर्षित भएका छौं, हमालको लोकप्रिय छविले यस अभियानको उदेश्य पुरा हुनेमा हामी विश्वस्त छौ ।’ ‘बैकिङ साक्षरता र समावेशीता प्रवद्र्धन गर्न महान् अभिनेतालाई लिएर हामी गाउँ गाउँमा जाने छौं । विभिन्न कार्यक्रमको आयोजना गरी सर्वसाधारणलाई बैंकमा खाता खोल्न, बचत गर्न र भविष्य सुरक्षीत गर्न अपिल गर्ने छौ’ पौडेलले भने । अभिनेता राजेश हमालले बैंकमा खाता खोल्दा पैसा बचत हुने, व्याज आम्दानी हुने, अन्य बैकिङ सेवाको प्रयोग गर्न सकिने र त्यसबाट अन्य लाभ लिन सकिने विषयको जानकारी धेरै नेपालीलाई नभएको र अझै पनि ६० प्रतिशतभन्दा बढी नेपालीले बैंकमा खाता नखोलेको अवस्थामा एक घर एक खाता अभियानको प्रवद्र्धक दूतको रुपमा आफू काम गर्न मञ्जुर भएको बताए । ‘बैंकले धेरै राम्रो कार्यक्रम ल्याएको छ, बैंकमा खाता खोल्दा बचतकर्तालाई पनि फाइदा हुन्छ, बैंकलाई पनि फाइदा हुन्छ, अर्थतन्त्रलाई पनि फाइदा हुन्छ’ हमालले भने । एमएमबीका रिटेल बैकिङ प्रमुख सुष्मा शर्माले एक घर एक खाता अभियानमा खाता खोल्ने ग्राहकलाई बीमा, रेमिट्यान्स भुक्तानी सेवा लगायत सुविधा दिन सकिने र यो खोता खोल्ने प्रक्रिया सजिलो भएको बताइन् ।
अबदेखि प्रत्येक दिन सिआरआर ७० प्रतिशत हुनै पर्ने
काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरुले अवदेखि दैनिक रुपमा अनिवार्य नगद मौज्दातको ७० प्रतिशत रकम राख्नै पर्ने भएको छ । यसअघि साप्ताहिक रुपमा त्यस्तो रकम पुर्याउदा पनि हुने ब्यवस्था थियो । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत गरिएको परिवर्तनलाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) को ७० प्रतिशत रकम दैनिक रुपमै पुग्नु पर्ने ब्यवस्था गरेको थियो । यसअघि ७ दिनमा गणना गर्ने गरिएकोमा अव भने १४ दिनमा सिआरआर गणना हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेशलनले पायो अन्तर्राष्ट्रिय पुरष्कार
काठमाडौं, २७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक अन्तराष्ट्रिय स्तरको पुरस्कार पाएको छ । बैंकलाई सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कन्ग्रेसको भव्य कार्यक्रममा एशिया बैकिङ, वित्तीय सेवा, तथा बीमा क्षेत्रबाट सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पुरष्कृत गरिएको सो बैंकका प्रबक्ता गणेशराज पोखरेलले जानकारी दिए । विभिन्न उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई उक्त संस्थाबाट कूल ९ विधाहरुमा पुरष्कार वितरण गरिएकोमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको बैंकका प्रबक्ता पोखरेलले बताए । यस अघि पनि इन्टिच्यूट अफ चार्टर्ड एकाउण्टेन्ट अफ नेपालले यस बैंकलाई बेष्ट प्रिजेन्टेड एन्युवल रिपोर्ट २०१५ बाट सम्मान गरेको थियो ।