एनएमबि बैंकको नेतृत्वमा तिला जलविद्युत आयोजनामा साढे ४४ अर्ब बढी ऋण लगानी हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कालीकोटको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ । वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् । अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले समेत आयोजनामा सहभागी लगानीकर्ताका रूपमा ऋण लगानी गर्नेछन् । एस.सी. पावर कम्पनीको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ । आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार यसको जडित क्षमता ४४० मेगावाट रहेको छ । आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ । वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एस.सी. पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन् । निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको यो आयोजना जडित क्षमताका आधारमा हालसम्मकै ठूलो जलविद्युत आयोजना भएको कम्पनीले जनाएको छ । आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । एनएमबि बैंकले वातावरणीय तथा सामाजिक पक्षलाई प्राथमिकतामा राख्दै आयोजनामा लगानी गरेको जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको छ । आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्षको अध्ययन तथा मूल्यांकनसमेत गरिएको बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) द्वारा विकसित हाइड्रोपावर सस्टेनेबिलिटी टुल प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षणका लागि प्रयोग गरिएको बैंकले जनाएको छ । एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ । बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे, आजदेखि सेवा सुरु

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरिएको छ । २०८२  कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको बैंकले जनाएको छ ।  बैंकका अनुसार नयाँ स्थानबाट आज (भदौ ३ गते) बुधबारदेखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ । बैंकले कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी आफ्ना ग्राहक तथा सम्बन्धित सबैलाई गराउँदै थप जानकारीका लागि बैंकको वेबसाइट वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकको नयाँ केन्द्रीय कार्यालय बालुवाटारमा राष्ट्रपति भवनबाट नजिकै वडा नम्बर ३ को कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालय आसपासमा रहेको छ । 

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा सहयोग गरेको छ । बैंकले कास्कीमा सशस्त्र प्रहरी बल, नेपाल, नेपाल रेडक्रस सोसाइटी कास्की र नेपाल भारत मैत्री पुस्तकालयलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो । बैंकले फेवा तालमा उद्धार कार्यमा प्रयोग हुने उपकरण सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई सामग्री तथा संरचना निर्माणका लागि सहयोग गरेको जनाएको छ । त्यस्तै, रक्तसञ्चार सेवाको सुदृढीकरणका लागि नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई आवश्यक उपकरण प्रदान गरिएको छ । नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई पुस्तकालयको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक र पत्रपत्रिका खरिदका लागि सहयोग गरिएको बैंकले जनाएको छ । उक्त सहयोग भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु तथा नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीष कुमार चान्दनाले पोखरामा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका थिए । सहयोग सामग्री क्रमशः सशस्त्र प्रहरी बल, नेपालका डीआईजी प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी तथा नेपाल भारत मैत्री संघ, कास्कीका अध्यक्ष किरणलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेतीलगायत बैंक तथा सम्बन्धित संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा तथा सामुदायिक विकासमा निरन्तर योगदान पुर्‍याउने जनाएको छ । नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ इकाई र १२७ एटीएम सञ्चालनमा रहेका छन् ।