काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्ट पे अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्ट पे सञ्जालमा आबद्ध भएको छ । अब बैंकका ग्राहकले स्मार्ट पे आईबीएफटीमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाका खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ ।
एससीटीका अनुसार स्मार्ट पे आईबीएफटी डिजिटल माध्यमबाट बैंक तथा वित्तीय संस्था, विद्युतीय वालेट र रेमिट्यान्स कम्पनीहरूबीच अन्तरबैंक रकम स्थानान्तरण गर्ने सेवा हो । यसले सहभागी संस्थाहरूबीच अन्तरआबद्धता बढाउँदै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन र वित्तीय पहुँच विस्तार गर्न सहयोग गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी नेपालकै पहिलो स्वदेशी कार्ड सञ्जाल सञ्चालन गर्ने संस्था हो । कम्पनीले हाल बैंक तथा वित्तीय संस्था, विद्युतीय वालेट कम्पनी, रेमिट्यान्स कम्पनी तथा सहकारी संस्थासहितको समावेशी सञ्जालमार्फत एससीटी युनियनपे कार्ड, भिसा कार्ड, मास्टरकार्ड, नेपालपे कार्ड, डिस्कभर कार्ड र रूपे कार्ड जारी तथा स्वीकार गर्ने सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।
यसका साथै एससीटीले एटीएम, बिक्री केन्द्र (पीओएस), इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, स्मार्ट क्यूआर सेवा र रकमान्तर सेवामार्फत पनि डिजिटल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।