एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर तानसेनमा सञ्चालनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा भदौ १ गते लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला, तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५ पुगेको छ । उक्त काउन्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा २० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न स्वास्थ्य, होटल तथा रेस्टुरेन्टका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले विभिन्न संस्थासँग सम्झौता गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउन लागेको हो । सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवा तथा सामग्रीमा छुट प्राप्त गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना हिलक्रेस्ट होटल, कुरिनटार, चितवनमा आवास तथा रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, एलोफ्ट काठमाडौं, छायादेवी कम्प्लेक्स, ठमेलमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । एल्लो हात्ती, लाजिम्पाट, काठमाडौंमा उपहार सामग्री बिक्री सेवामा १० प्रतिशतसम्म छुट पाइनेछ । स्वास्थ्य सेवातर्फ अल्फा केयर डायग्नोस्टिक सेन्टर, बुढानीलकण्ठ, काठमाडौंमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, दृष्टि आई केयर, कलंकी, काठमाडौंमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । यसैगरी ओरियन्ट क्याफे, दरबारमार्ग, काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाइनेछ । होटल स्मारक, हेटौंडा, मकवानपुरमा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । नेपालका विभिन्न स्थानमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले पछिल्लो समय काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको जनाएको छ ।

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त भए/नभएको अवस्था सजिलै हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपछि १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् । कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ । बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ । विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।