काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ ।
दिगो तथा हरित वित्तीय क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहकार्यले विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ ।
समझदारीअनुसार इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंकको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ ।
यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र स्थानीय समुदायको उत्थानशीलता बढाउने परियोजना तथा लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबि बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री वित्तीय अभ्यास अघि बढाउँदै आएको जनाएको छ ।
बैंक र इसिमोडबीचको सहकार्यले विज्ञान, वित्त र दिगो विकासबीचको सम्बन्धलाई थप मजबुत बनाउने तथा नेपालमा दीर्घकालीन वातावरणमैत्री आर्थिक विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।