हाम्रो विकास बैंक १० वर्षमा, डेढ अर्ब निक्षेप परिचालन

नुवाकोट । हाम्रो विकास बैंक बुधबारदेखि १० औं वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालमा २ करोड रुपैयाँ पुँजीबाट सञ्चालनमा आएको बैंकले एक दशकको अवधिमा १ अर्ब ५० करोड रुर्पैयाँ निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसराज कँडेलले जानकारी दिए। उनका अनुसार यो अवधिमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ करोड ८७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।बैंक सञ्चालनको नौ वर्षमा जिल्लाको बट्टारमा मुख्य कार्यालयसहित त्रिशूली, छहरे, रातमाटे, सामरी, रानीपौवा, समुन्द्रटार र देउरालीमा शाखा कार्यालय स्थापना गरी सेवा दिँदै आएको छ । नुवाकोटमा मात्र कार्यक्षेत्र रहेको बैंकले अबको चार महिनाभित्र थप चार जिल्ला धादिङ, चितवन, तनहुँ र कास्कीमा आफ्नो सेवा विस्तार गर्न लागेको सीइओ कँडेलले बताए । गत आव विसं २०७३/०७४ मा मुनाफाबाट बैंकले सरकारलाइ १ करोड ८२ लाख आयकरबापत भुक्तान गरेको थियो । विसं २०७२/०७३ मा जिल्लाबाट बढी कर भुक्तान गर्ने करदाताका रुपमा सरकारले उक्त बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो । बैंकले आधुनिक बैंकिङको क्रममा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा एटीएमलगायतका सेवा शुरु गर्न लागेको बैंकका अध्यक्ष हरिप्रसादले जानकारी दिए। रासस

नविल व्यालेन्स फण्डको ३० हजार कित्ता सेयर लिलामीमा न्युनतम मूल्य ९५०, बोलपत्र पेश गर्ने दिन आइतबार

काठमाडौं । नविल बैंकले नविल ब्यालेन्स फण्ड १ को स्वामित्वमा रहेको सेयर लिलामी गर्न लागेको छ । व्यालेन्स फण्डको स्वामित्वमा रहेको ३० हजार कित्ता लिलामी गर्न लागेको हो । जसअनुसार लक्ष्मी डिवेन्चरको १० हजार, एसबीएल ऋणपत्र १० हजार र बीओके डिबेन्चर १० हजार कित्ता स्वामित्व बिक्री गर्ने नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सेयरको न्युनतम मूल्य ९५० रुपैयाँ राखिएको छ । न्युनतम् ५ हजार कित्ता किन्न आवेदन दिनुपर्ने छ । ८ प्रतिशतको लक्ष्मी बैंक डिबेन्चर परिपक्व ०७६ माघ २१ गते, ८ प्रतिशत प्रतिफल दिने एसबीएल ऋणपत्र ०७७ जेठ ५ र ८ प्रतिशत प्रतिफल दिने बीओके डिवेन्चर ०७७ जेठ ४ गते हुने नविलले जनाएको छ । लिलामी पेश गर्ने अन्तिम दिन आउदो आइतबार रहेको छ । नविल बैंक कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को गत चैत २९ गते परिपक्व भएकाले बाँकी स्वामित्व लिलामी गर्न लागेको हो ।

गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’, वार्षिक ९ प्रतिशत व्याज दिने

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ संचालनमा ल्याएको छ । उक्त खातामा बैंकले बार्षिक ९ प्रतिशत व्याज दिने भएको छ । बुधबार झापाको मेची पुलबाट बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ । बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । साथै, ग्राहकले एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।