बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा असार २८ गते, के के छन् विशेष प्रस्ताव?

काठमाडौं । बैंक अफ काठमाण्डूको २३औँ वार्षिक साधारणसभा आगामी असार २८ गते हुने भएको छ । सो प्रयोजनको लागि असार ३ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । उक्त सभामा कम्पनीले हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । आइतबार(आज) कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०४ रुपैयाँ रहेको छ ।

औद्योगिक क्षमता बढेर ५८ प्रतिशत पुग्यो, उच्च आर्थिक वृद्धिको संकेत : राष्ट्र बैंक

काठमाडौं । लोडसेडिङको अन्त्य भएपछि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेर ५८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको क्षमता ५४.२ प्रतिशत थियो । एक वर्षको अवधिमा ४ प्रतिशतले औद्योगिक क्षमता विस्तार भएको छ । निर्माण, खानी तथा उत्खनन्का साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत योगदान दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको राष्ट्र बैंकको भनाई छ । आर्थिक वर्षको शुरु मै आएको अविरल वर्षा तथा डुवानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आएपनि जीडीपीमा करिब ६ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान गरिएको छ । सरकारले हालै सार्वजनिक गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०७५/ ७६ मा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यी तथ्यहरुबाट मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिलेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै मुद्रास्फीतिमा चाप पर्ने संकेतका बावजुद केही उपभोग्य वस्तुहरुको मूल्यमा भएको गिरावटका कारण गत वैशाखमा उपभोक्ता मुद्रास्फीति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा सीमित भएको छ । आर्थिक वर्ष २०७४/७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले मुद्रास्फीतिको परिदृश्य प्रभाव पार्ने देखिन्छ । वाह्य क्षेत्रतर्पm, आयात उच्च दरमा बढेकाले चालू आर्थिक वर्षको १० महिनासम्ममा चालू खाता घाटा बढेर १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । विप्रेषण आप्रवाहमा सुधार आई गत वर्षको ५.२ प्रतिशत वृद्धिको तुलनामा ७ प्रतिशत पुगेको छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति १० खर्ब ७२ अर्ब ८५ करोड रुपैयाँ छ । यसले ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । वार्षिक विन्दुगत आधारमा १० महिनासम्ममा कर्जा प्रवाहको १९.६ प्रतिशत र निक्षेप परिचालनको वृद्धिदर १६ प्रतिशत रहेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ । वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुश लगाउनु पर्ने राष्ट्र बैंकको भनाई छ ।

एफपीओमा लगानीकर्तालाई लोभ्याउँदै नेपाल बैंकले अघि सार्यो नाफा बढ्ने आधार

काठमाडौं । थप निष्काशन(एफपीओ)को तयारीमा जुटेको नेपाल बैंकले आगामी आर्थिक बर्षहरुमा नाफा वृद्धि हुने प्रक्षेपण सार्वजनिक गर्दै लगानी कर्तालाई लोभ्याउने प्रयास गरेको छ । बैंकले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षहरुमा नाफा बढ्दै जाने दावी गर्दै एफपीओमा लगानीकर्ताहरुलाई लोभ्याउने प्रयास गरेको हो । यतिबेला नेपाल बैंकले प्रतिकित्ता २८० रुपैंयामा एफपीओ निष्काशन गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको छ । सेयर बजार ओरालो लागिरहेको अवस्थामा एफपीओ निष्काशनको तयारीमा जुटेको बैंकलाई एफपीओ नबिक्ने जोखिमले सताएको देखिन्छ । बैंकले एफपीओको बिक्रिबाट एक अर्ब ७६ करोड सेयर पूँजी र ३ अर्ब १६ करोड सञ्चित कोषमा रकम प्राप्त गर्नेछ । एफपीओ बिक्रिबाटै बैंकले ३२ प्रतिशत लाभांश दिन पुग्ने श्रोत जुटाउन सक्ने देखिन्छ । बैंकले राष्ट्रिय बीमा कम्पनीमा रहेको एक अर्ब मूल्य बराबरको सेयर बेच्ने, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, आरएमडीसी, नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थानहरुमा रहेका सेयरहरुको मूल्य समेत उच्च रहेकाले नाफा वृद्धि हुने बताएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले अब बैंकका लागि सुनौला दिनहरु आएको दावी गरेका थिए । बैंकको स्वामित्वमा अझै १५ अर्ब मूल्य बराबरको अचल सम्पति रहेको प्रमुख कार्यकारी अधिकृत शाहले जानकारी दिए । त्यस्तै, पोखरास्थित फुलबारी होटलमा रहेको ७५ करोड ऋण र त्यसको ब्याज समेत उठाउँदा बैंक अझै बलियो हुने उनको दावी थियो । नेपाल बैंकले २५ वटा स्मार्ट शाखा सञ्जाल विस्तार गर्ने बताएको छ । आगामी अािर्थक बर्षदेखि लगानीकर्ताहरुलाई लाभांश समेत दिने शाहले दावी गरे । बैंकले निकट भविष्यमै १६० वटा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य निर्धारण गरिएको र आगामी २ बर्षभित्र २ सय वटा शाखा विस्तार गर्ने लक्ष्य रहेको पनि शाहले जानकारी दिए । बैंकले हाल वित्तिय प्रणालीमा आविष्कार गरिएको सबै भन्दा नविन प्रबिधी उपयोग गरिरहेको दावी समेत गरेका थिए । बैंकले चालु आर्थिक बर्षमा आफ्नो नाफा ३ अर्ब पुर्याउने प्रक्षेपण गरेको थियो ।