सवारीसाधान र घरजग्गामा बैंकको लगानी घट्यो, अटोमा मात्रै १४३ प्रतिशत गिरावट

काठमाडौं । सवारी साधान (अटो) र घरजग्गा (रियलस्टेट) कर्जा लगानीमा व्यापक गिरावट आएको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि अटो र रियलस्टेट कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो । अटोलोन १४३ प्रतिशत घटेको छ । यस्तै रियलस्टेटतर्फको कर्जा लगानी ३१ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले १६ अर्ब ५६ करोड रुपैयाँ अटोलोन प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब २८ करोड रुपैयाँ अटोलोन प्रवाह भएको थियो । एक वर्षको अवधिमा २३ अर्ब ७१ करोड अटो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी घटेको हो । गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले व्यवसायीक सवारी खरिदमा १४ अर्ब ८० करोड र व्यक्तिगत गाडी खरिदमा १ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ मात्र प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । कर्जा संकुचन भएपछि अटोको बजार पनि घटेको छ । चालु आवको बैशाखसम्म रियलस्टेटमा बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो कर्जा १८ अर्ब २५ करोड रुपैयाँ लगानी भएको थियो । यो वर्ष ४ अर्ब ३२ करोड रुपैयाँ घटेको छ । कर्जा लगानीमा आएको कमीले घरजग्गा कारोबार पनि घटेको छ ।  

बैंकको सेयर कर्जा ५४ करोड घट्यो, यस्तो छ कारण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा (मार्जिन नेचर लोन) लगानी घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले ७२ करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा १ अर्ब २६ करोड ११ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी ५४ करोड रुपैयाँ घटेको छ । लगानीयोग्य पुँजीको संकट चुलिएपछि सेयर कर्जा घटेको छ । हालसम्म सेयर कर्जा ४१ अर्ब १९ करोड रुपैयाँ छ । समीक्षा अवधिमा १ करोड रुपैयाँ माथिको लगानी ०.९ प्रतिशत मात्र बढेको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा ८.२, २५ देखि ५० लाखसम्म ३.९ र २५ लाखभन्दा मुनिको सेयर कर्जा ३.८ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउँदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ । लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन सकेन यसको असर सेयर कारोबारमा परेको हो । बजारमा हकप्रद, थप निष्कासन (एफपीओ) र साधारण सेयर (आईपीओ) को आपूर्ति बढेको र महंगो ब्याजदर र लगानीयोग्य पुँजी नभएपछि ठुला लगानीकर्ता बजारमा नआएको लगानीकर्ताको भनाई छ । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

१० महिनामा १३० अर्ब तरलता प्रशोचन

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुलाबजार कारोबारका विभिन्न उपकरणमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको १४ दिने निक्षेप संकलन बोलकबोलमार्पmत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत ६९ अर्ब ७२ करोड र सोझै खरिद बोलकबोलमार्फत् ३७ अर्ब ६२ करोड गरी कुल १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६१ अर्ब रुपैयाँ तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ३३ करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब ३९ करोड रुपैयाँको उपयोग गरेका थिए । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार वाणिज्य बैंकबाट ३ अर्ब ५० करोड डलर खरिद गरी ३ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ ।