ग्लोबल आइएमई बैंकका ग्राहकलाई ग्राण्डी हस्पिटलमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७.५ प्रतिशत छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

एनआईसी एशिया र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता, बैंकको ११ प्रतिशत ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । एनआईसी एशिया बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता ऋणपत्र निष्काशन गर्ने सम्झौता भएको छ । बैंकले ‘११ प्रतिशत ऋणपत्र २०८२/८३’ निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंकतर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नबिल इन्भेष्टमेन्ट बैंकिङले बैंकको रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुन आउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । सो मात्राको ऋणपत्र मध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ । यस अगाडि बैंकले जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

प्रभु लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंक्यासोरेन्स सम्झौता

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंक्यासोरेन्स गर्ने सम्झौता भएको छ । सम्झौता पश्चात प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकलाई जीवन बीमा सम्बन्धि सेवाहरु मुक्तिनाथ बिकास बैंक सबै शाखाहरु मार्फत समेत उपलब्ध हुनेछ । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने र मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए । अब जीवन बीमाको प्रिमियम मुक्तिनाथ बिकास बैंक मार्फत समेत बुझाउन सकिने व्यवस्था गरिएको छ ।