एनएमबि बैंकको एक करोड १४ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत
काठमाडौं । एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो दिन बैंकको सेयर प्रतिकित्ता ३१९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
प्रभु बैंकको सीओओमा थकाली र सीसीओमा लम्साल नियुक्त
काठमाडौ। प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना युवा बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । उनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् । थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओ थिए । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका दिनेश थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा थिए । थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । त्यसैगरी, चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्राञ्च म्यानेजर थिए । लम्सालसँग १९ वर्षसम्म बैंकमा काम गरेको अनुभव छ । पछिल्लो अढाई वर्ष उनले एनबिमा सिनियर म्यानेजरको रुपमा काम गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गरेका लम्साल विद्यार्थी जिबनकालमै सन् १९९९ मा एनबी बैंकमा म्यानेजमेन्ट ट्रेनीको रुपमा काम गरेका थिए । सीइओ अशोक शेरचनले दुई जुझारु युवा बैंकरको आगमनले बैंकलाई नयाँ उचाइमा पुर्याउन ठूलो मद्दत पुग्ने बताए ।
ग्राहकलाई उत्कृष्ट सेवा दिन्छौं र लगानीकर्तालाई १०/१५ प्रतिशत लाभांश दिन्छौं–तोयाराज अधिकारी
तोयाराज अधिकारी प्रमुख कार्यकारी अधिकृत- वेष्ट फाइनान्स लिमिटेड तोयाराज अधिकारीले साउन १८ गतेदेखि वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा जिम्मेवारी समाल्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १८ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ । धेरै किसिमका संस्थाहरु मर्ज हुँदै र विभिन्न तहमा समस्या भोग्दै आएको यस संस्थामा नयाँ लगानीकर्ता आएका छन्, नयाँ नाम राखिएको छ र प्रमुख कार्यकारी अधिकृत पनि नयाँ नै राखिएको छ । फाइनान्स कम्पनीहरु मध्ये उत्कृष्ट सेवा दिने र यसै आर्थिक वर्षदेखि नाफामा गई लगानीकर्तालाई लाभांश दिने प्रतिवद्धता नयाँ टिमको छ । प्रस्तुत छ यसै पेरिफेरिमा अधिकारसँगको विकासन्युजले गरेको कुराकानी । १८ वर्षको अवधिमा यहाँले कुन कुन बैंकमा काम गर्नु भयो ? सबैभन्दा पहिलो पहिले माछापुच्छ्रे बैंकबाट बैकिङ करिअर शुरु गरेको हुँ । सन् २००१ देखि २०११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेँ । त्यसपछि कास्की फाइनान्सको सीईओ भएँ । त्यहाँ सीईओको रुपमा ७ वर्ष काम गर्ने मौका मिल्यो । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि कामना विकास बैंकको सीईओ भएर काम गरेँ । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ थोरै समय काम गरेँ । बेष्ट र सिनर्जी मर्जपछि बनेको बेष्ट फाइनान्समा के के चुनौति छन् र कसरी व्यवस्थापन गर्नुहुन्छ ? चुनौति सबै क्षेत्रमा हुन्छन् । बैकिङ क्षेत्रमा पनि चुनौति छन् । म आफैले पनि चुनौतिहरु पार गर्दै एउटा सफल बैंकर्सको रुपमा आफूलाई अगाडि बढाई रहेको छु । वेष्ट फाइनान्सको ब्राण्ड इमेज सुधार गर्नुछ । हामीले दिने सेवामा सुधार गर्दै जाँदा संस्थाको इमेज पनि राम्रो बन्दै जानेछ । जे चुनौति आउँछन्, त्यसलाई व्यवस्थापन गर्दै जाने हो । मसँगै धेरै प्रकारका संस्थाहरुमा काम गरेको अनुभव छ । वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा काम गरेको अनुभव पनि छ । मर्जपछि बनेका संस्थामा सीईओ भएर काम गरेको अनुभव पनि छ । बेष्ट फाइनान्स विभिन्न समस्याबाट माथि उठ्दै आएको छ । मर्जपछि ठूलो फाइनान्स कम्पनीको रुपमा स्थापित भएको छ । यस फाइनान्सका आफ्नै चुनौतिहरु छन् । मेरो अनुभव, फाइनान्समा कार्यरत पुराना साथीहरुको अनुभव, सञ्चालक समितिको मार्गदर्शन, लगानीकर्ताको नेटवर्क र सहयोगलाई समेटर अगाडि बढ्ने हो । नियामक निकाय नेपाल राष्ट्र बैंकले तय गरको संस्थागत सुशासनको मापदण्डभित्र बसेर धेरै काम गर्न सकिन्छ भन्ने विश्वास छ । बेष्ठ फाइनान्सको बलियो पक्ष के के हुन् ? यो फाइनान्सका प्रवद्र्धकहरु मुलतः काठमाडौं र बुटवलका हुनुहुन्छ । दुबै ठूलो र पुरानो बजार हो । यो संस्थाको लागि एउटा बलियो पक्ष हो । त्यस्तै पछिल्लो समय यो संस्थामा गैर आवासीय नेपालीहरुको लगानी बढेको छ । लगानीकर्तामा भएको यो डार्भसिर्भिकेशनले संस्थालाई अगाडि बढाउन सजिलो हुन्छ । १४ वटा ब्रान्च, ३ वटा एटीएम मार्फत सेवा दिएका छौं । १३० जना कर्मचारी छन् । संस्थाको निक्षेप २ अर्ब २५ करोड रुपैयाँ छ । कर्जा लगानी २ अर्बको हाराहारीमा छ । एउटा फाइनान्स अगाडि बढ्नको लागि यी बलिया आधार हुन् । फाइनान्सप्रति तपाईको प्रतिवद्धता के हो ? सबैभन्दा पहिला सेवालाई राम्रो बनाउनुपर्छ । हामीले हाम्रा ग्राहकलाई बेष्ट सर्भिस दिने सोच बनाएका छौं । प्रडक्टमा विविधता ल्याउने छौं । कर्मचारीको क्षमता विकास गरी उच्चस्तरको सेवा दिने वातावरण बनाउने छौं । त्यस्तै, यसै आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश दिन सक्ने गरी नाफा आर्जन गर्नुपर्छ । चालु आर्थिक वर्षको नाफाबाट लाभांश दिने हाम्रो प्रतिवद्धता हो । २०७६ असार असान्तसम्ममा निक्षेप साढे ३ अर्ब र कर्जा लगानी ३ अर्ब रुपैयाँ भन्दा बढी बनाउने योजनासहित हामी अगाडि बढेका छौं । हामी छिट्टै उत्कृष्ट फाइनान्स मध्ये बेष्ट फाइनान्स बन्ने सोचका साथ काम गरेका छौं । एक वर्षमा ५० प्रतिशत निक्षेप वृद्धि गर्ने लक्ष्य सुनाउनु भयो, त्यसमा योजना के छन् ? प्रतिशतका आधारमा निक्षेप वृद्धि ५० प्रतिशत हुन्छ । तर भोलुममा हेर्ने हो भने त्यो ठूलो रकम होइन । एक वर्षमा ढेड अर्बको निक्षेप वृद्धि ठूलो होइन । पुँजीको साइज ठूलो छ । विजनेश पनि बढाउनु छ । २४ फाइनान्सको करिव २०० शाखा छन् । बेष्ट फाइनान्सको मात्र १४ वटा शाखा छन् । एउटा शाखामा करिव १० करोडको निक्षेप बढायौ भने पनि ढेड अर्ब निक्षेप वृद्धि भईहाल्छ । नेपालमा बढी वित्तीय कारोबार हुने भनेको काठमाडौं, पोखरा र बुटवल हो । तीनै शहरमा हाम्रो उपस्थिति र कारोबार पनि राम्रो छ । त्यसैले ५० प्रतिशतको ग्रोथ सजिलै मिट हुन्छ । यस संस्थाका पुराना लगानीकर्ताहरु प्रतिफल नपाएर निराश छन् । यस संस्थाका प्रवद्र्धक र सञ्चालकबीच द्वन्द्व भएको देखियो । यी समस्याको हल कसरी हुन्छ ? पहिला यस्तो समस्या थियो भनेर त्यसलाई कोट्याएर बसेर केही हुन्न । भोलिको दिनमा राम्रो गर्नुपर्छ भन्ने उत्साह लिएर हामी अगाडि बढेका छौं । संस्थागत सुशासन भित्र बसेर काम गर्ने भन्नेमा सबै प्रवद्र्धक तथा आधारभूत लगानीकर्ताहरुको प्रतिवद्धता छ । त्यो प्रतिवद्धताका आधारमा म पनि उत्साहित भएर यहाँ आएको छु । यो टिममा बसेर काम गर्दा उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने मेरो विश्वास हो । बैंक तथा वित्तीय संस्था चलाउने भनेको कर्मचारीले हो, सीईओ तथा व्यवस्थापनको उच्च तहमा बस्नेले हो । राष्ट्र बैंकले पनि बोर्ड र प्रमोटरको हस्तक्षेप हुनुहुन्न भनेको छ । प्रोटरहरुले यसमा सहमति हुनुहुन्छ । लगानीकर्तामा अब निराशा नरहला । फाइनान्सको वित्तीय अवस्था कस्तो छ ? अहिले खराव कर्जा अलि बढी नै छ, करिब १२/१३ प्रतिशत । तर केही ठूला कर्जा सेटल गर्ने प्रतिवद्धता आएको छ । प्रतिवद्धता आएका कर्जा सेटल भएपछि खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनेछ । पुस मसान्तसम्ममा ५ प्रतिशतमा झार्छौ नै । चुक्ता पुँजी, सीडी रेसियो, क्यापिटल एडेक्वसी राष्ट्र बैंकले तोकेको सीमा भित्र छ । सिजर्भ करिब १३ करोड जति ऋणात्मक छ । त्यसलाई यसै वर्ष धनात्मक बनाएर सेयरधनीलाई ६/७ प्रतिशत लाभांश दिने हाम्रो प्रतिवद्धता छ । त्यसपछिको वर्षमा १० प्रतिशत, त्यसपछि १५ प्रतिशत लाभांश दिन सकिन्छ भन्ने हामीलाई विश्वास छ । बेष्ट फाइनान्स अब फेरी अर्को बैंकमा मर्ज भएर जान्छ वा फाइनान्स कम्पनीकै रुपमा रहन्छ ? वित्तीय सेवा प्रदान गर्ने सवालमा वित्त कम्पनी, विकास बैंक र वाणिज्य बैंकहरुको आ–आफ्नै क्षेत्र हुन्छ, त्यही अनुसारको भूमिका हुन्छ । फाइनान्स कम्पनीका फरक प्रकृतिका ग्राहक हुन्छन् । वित्तीय पहुँच बढाउन पनि फाइनान्स कम्पनीहरुको प्रभावकारी भूमिका छ । यो कुरा राष्ट्र बैंकले पनि बुझेको छ । त्यसैले हामी फेरी मर्जमा जाने सोचमा छैनौं । हामी आफ्नै हिसावले अगाडि बढ्ने छौं ।