काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता आदानप्रदान भएको छ ।
नेपालमा आईएफसीको यो पहिलो जोखिम साझेदारी पहल हो, जसअन्तर्गत सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ ।
यस व्यवस्थाले चुनौतीपूर्ण आर्थिक परिस्थितिको सामना गरिरहेका देशभरका साना व्यवसायीहरूमा कर्जा विस्तार गर्ने सिद्धार्थ बैंकको क्षमतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।
सम्झौताबारे जानकारी दिँदै सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले आईएफसीसँगको यो साझेदारीले एमएसएमई कर्जा पोर्टफोलियो विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
उनका अनुसार विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै यस क्षेत्रमा कर्जा प्रवाह बढाएर उद्यमशीलता प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने र नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने बैंकको लक्ष्य रहेको छ ।
सन् २०१४ मा आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएदेखि सुरु भएको यी दुई संस्थाबीचको सहकार्य सन् २०२३ मा ५ करोड ५० लाख अमेरिकी डलरको सिन्डिकेटेड कर्जा हुँदै थप सुदृढ भएको हो ।
यसबाहेक सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा पनि आईएफसीसँग परामर्श सेवामार्फत साझेदार गर्दै आएको छ ।