एक वर्षमा डलरसंग रुपैयाँ ६ प्रतिशत कमजोर, १ डलर बराबर ११२ रुपैयाँ

<p>काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग ६ प्रतिशतले अवमूल्यन भएको छ । २०७४ असारको तुलनामा गत असार मसान्तमा रूपैयाँ डलरसँग ६ प्रतिशतले अवमूल्यन भएको छ ।अघिल्लो वर्ष नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०९ रुपैयाँ ३४ पैसा पुगेको छ । २०७४ असार [&hellip;]</p>

काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग ६ प्रतिशतले अवमूल्यन भएको छ । २०७४ असारको तुलनामा गत असार मसान्तमा रूपैयाँ डलरसँग ६ प्रतिशतले अवमूल्यन भएको छ ।अघिल्लो वर्ष नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।

२०७५ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०९ रुपैयाँ ३४ पैसा पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ पैसा थियो । नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर ११२ रुपैयाँ बिक्री दर तोकेको छ । डलर मजवुत भएपछि नेपाली रुपैयाँ कमजोर भएको हो ।

भारतीय रुपैयाँ (भारु) डलरसंग हालसम्मकै कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७० भारु तोकेको छ । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ ।

डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्नेगर्छ । डलर मजवुत भएपछि बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । बैशाखयता ४ महिनामा नेपाली रुपैयाँ ८ रुपैयाँ कमजोर भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तराष्ट्रिय बजारमा डलर महंगिदै गएको हो ।

कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ ।

डलर बलियो हुँदाका बेफाइदा

डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ ।

यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ ।

राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

Share News