मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनस सेयर दिन प्रस्ताव
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट चुत्तापुँजीको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्र बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।
बैंकहरूले लगानीकर्तालाई सेयर कर्जा लिन बोलाए
काठमाडौं । बैंकहरुले लगानीकर्तालाई सेयरकर्जा लिन बोलाउन थालेका छन् । लगानीकर्तालाई लक्षित गरी बैंकहरुले आकर्षक सेयर कर्जा योजना ल्याएका छन् । सिभिल बैंक, नेपाल बैंक र माछापुच्छ्रे बैंकले सेयर कर्जा योजना सार्वजनिक गरेका छन् । यस्तै बैंकहरुले पनि योजना ल्याउने तयारीमा रहेका छन् । लगानीयोग्य पुँजी भएकाले बैंकले ठुला लगानीकर्तालाई फोन गरेर सेयर कर्जा लिन आउन भन्न थालेका छन् । बैंकले फोन गरेर सेयर कर्जा लिन आउन भनेको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार बताउछन् । बजारमा सुधारको संकेत देखिएको, बैंकको ब्याजदर घट्ने अवस्थामा पुगेको र पर्याप्त लगानीयोग्य पुँजी भएकाले बैंकले बोलाउन थालेको उनले बताए । एनएमबी बैंक र एनआईसी एसिया बैंकले सेयर कर्जा लिन बोलाएको उनले बताए । यस्तै अन्य बैंकले पनि धमाधम सेयर कर्जा योजना ल्याउने तयारी गरेको उनले जानकारी दिए । सिभिल बैंकले आधारदर (वेसरेट) मा सेयरधितो कर्जा दिने योजना ल्याएको छ । बैंकको आधारदर ११.८४ प्रतिशत रहेको छ । बैंकले सेयरधितोको कर्जा व्यवस्थापन शुल्क ०.७५ प्रतिशत मात्र रहेको बैंकले जानकारी दिएको छ । यस्तै नेपाल बैंकले ३ दिनभित्र सेयर कर्जा दिने भएको छ । सस्तो ब्याजदरमा सेयर कर्जा दिने बैंकले जानकारी दिएको छ । बैंकको आधारदर कम भएकाले सेयर कर्जा सस्तो हुने देखिएको हो । नेपाल बैंकको आधारदर ७ प्रतिशत छ । माछापुच्छ्रे बैंकले पनि बिहीबार सुलभ दरमा सेयर कर्जा दिने गरी योजना ल्याएको छ । पछिल्लो समयमा सेयर बजारमा सुधारका संकेत देखिएपछि बैंकहरुले लगानीकर्तालाई सेयर धितो कर्जा दिने योजना ल्याएका हुन् । नेपाल राष्ट्र बैंकले बजार २० प्रतिशतसम्म घट्दा मार्जिन कल गर्न नपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सेयरकर्जा लगानी सीमा ५० प्रतिशत तोकेको छ । गत आर्थिक वर्षमा ६० करोड ९६ लाख रुपैयाँ मात्र सेयरधितोमा लगानी भएको थियो । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको सेयरधितो कर्जा ४१ अर्ब रुपैयाँ पुगेको छ ।
तामाकोसी पाँचौं आयोजनामा लगानी गर्न एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक सहमत, छिटै सम्झौता हुने
काठमाडौं । १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी गर्न एआईआईबी सहमत भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । बैंक सहमत भएकाले अर्थले ऋण लिन प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । छिट्टै ऋण सम्झौता हुने छ । आयोजना बनाउन १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर ऋण लिने छ । आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो । आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण सुरुभई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम सुरु गर्न परामर्शदाता नियुत्तिको प्रक्रिया सुरु गरेको छ । परामर्शदाताका लागि तामाकोसीले आशयपत्र (ईओआई) मागेको छ । आशयपत्र पेश गर्ने परामर्शदातबीच प्रतिस्पर्धा गराइने छ । छनौट हुने परामर्शदाताले ल्याह्मेयर इन्टरनेसनले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को पुनरावलोकन गर्नुका साथै इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) को बोलपत्र डकुमेन्ट बनाउने छ । आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्नका लागि कम्पनीले सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम शुरु गरेको हो । कम्पनीले ठेकेदारको पूर्व योग्यता छनौट (पिक्यु) का लागि आब्हान गरेको छ । आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनामा अहिले विद्युत प्राधिकरणले लगानी गरिरहेको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र बाँकी सर्वसाधारणलाइ सेयर आईपीओ निष्कासन गर्ने प्रधानले जानकारी दिए । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट निस्कने पानी सिधै सुरुङमा पठाएर ९९.८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ रहेको छ ।