सञ्चय कोषको नाफा ३ अर्ब २० करोड
काठमाडौ । गत आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषले ३ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको व्यवस्थापन खर्च कटाउँदा सो रकम बराबर नाफा भएको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । उनले नाफा रकम ६ लाख सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा र वितरणको माध्यमबाट उपयोग गरिने उनले जानकारी दिए । गत आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । २ खर्ब ८७ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको उनले जानकारी दिए । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी ७ प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । कोषको स्रोतमा २ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ जम्मा भएको आइतबार आयोजित ५७औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताए। “कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्छ, कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्छ”, उनले भने । कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने र पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्ने मन्त्री डा खतिवडाको भनाइ थियो । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङ्गानाले सबै किसिमका कोषलाई नियमन गर्ने निकाय स्थापनाको तयारीमा लागिएको बताए । “सामाजिक न्यायको सिद्धान्तअनुसार सञ्चयकर्तालाई सेवा सुविधा दिइन्छ, सञ्चयकर्ताको दिगोपनको लाभका बारेमा काम गर्ने विषयमा छलफल भइरहेको छ”, उनले भने। कोषका कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता, घर सापटी कार्यक्रममा ५ लाख रुपैयाँ थप गर्नेजस्ता निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको ढुङ्गानाले जानकारी दिए ।
सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत जनता बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । साथै, उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक विभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरिसकेको छ । कुल २९ करोड ६९ लाख रुपैयाँ प्रिमियम संलकन गरेको छ । इन्स्योरेन्सले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड रुपैयाँको आईपीओ सेयर सर्वसाधारणमा बिक्री गर्दै छ ।
सिद्धार्थ बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब सिद्धार्थ बैंकबाट प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् । त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु बैंकको जुनसुकै शाखाबाट दिने बताएका छन् । साथै, उनले नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने जानकारी गराएका छन् । बैंकले हाल देशभर १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा र १३१ एटीएम मार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।