गण्डकी विकास बैंकले १४ प्रतिशत नगद लाभांश

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । साथै, बैंकले उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्ने छ ।

उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्ने उद्याेगले ३० प्रतिशतसम्म अनुदान पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्स्कियूटीङ एजेन्सी(पीईए)को रुपमा सहायता सम्बन्धी काम गर्ने भएको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्न सक्ने छन् । उक्त उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराउने छ । साथै, आयोजना अन्तर्गत कुनै एक ईकाइले न्युनतम १० लाख रुपैयाँ र अधिकतम १ करोड रुपैयाँसम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता रकमका लागि दरखास्त दिन पाउनेछन् । यसका लागि नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुले वेव पेज www.energy-efficiency-nepal.com बाट दरखास्त फारम लगायत विस्तृत जानकारी प्राप्त गरी सम्पूर्ण विवरण तथा आवश्यक कागजात सहित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सहायता रकमको लागि दरखास्त दिनु पर्नेछ । साथै, यन्त्र उपकरण जडानको लागि राष्ट्रिय वाणिज्य बैंक लगायत अन्य कूनै वाणिज्य बैंकबाट ऋण लिने गरि यस आयोजनाको सहयोग समेत लिन इच्छूक ईकाईहरुका लागि सम्बन्धित वाणिज्य बैंक मार्फत दरखास्त दिनुपर्ने र यस्तो अवस्थामा माथि उल्लेख गरे भन्दा थप ५ प्रतिशत सहायता रकम उपलव्ध गराईने छ । सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा प्रभावकारी उर्जा बचत गर्ने उद्देश्यले नेपाल सरकार र जर्मन सरकारबीच सम्झौता भएको थियो ।

हिमालयन बैंकले शुरु गर्यो मोबाईल बैंकिङ्ग एप, खाताको सम्पूर्ण जानकारी पाइने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मंगलबारबाट आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई–एम बि) शुरु गरेको छ । बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एपको शुरुवात गरेका हुन् । ‘हेएर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ स्लोगनका साथ यो मोबाईल एपको शुरुवात गरिएको छ । मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिन सकिने छ । त्यस्तै, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगाएतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् । शुभारम्भ कार्यक्रममा बैंकका उपमहाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पूर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउँदै जाने बताएका छन् । साथै, उनले बैंकको आईटी सेक्युरिटी व्यवस्थालाई अझ सुद्धृढ गर्दै लैजाने बताएका छन् ।