भारतीय बैंकहरुले पनि अब पुँजी बढाउनुपर्ने, माेदीसँगकाे सम्झाैता कार्यान्वयन प्रक्रिया अघि बढ्याे
काठमाडाैं । भारतीय बैंकहरुमा समेत पुँजी वृद्धिबारे चर्चा सुरु भएको छ । भारतीय रिजर्भ बैंकको साेमबार बसेकाे १० घण्टा लामाे बोर्ड बैठकले भारतीय बैंकहरुको चुक्ता पुँजी बासेलको प्रावधानअनुसार वृद्धि गर्नेबारे निर्णय गरेको हो । बासेलले बैंकहरुले कायम गर्नुपर्ने पुँजी पर्याप्तता अनुपात लगायत कायम गर्नुपर्न अन्य सूचकहरुकाे बारेमा व्याख्या गरेकाे हुन्छ । हाल बासेल ३ कार्यान्वयनमा रहे पनि बासेल ४ को समेत तयारी भइरहेको छ । यसैअनुरुप बैंकहरुको पुँजी वृद्धि गर्ने सम्बन्धमा आरबीआई बोर्डले निर्णय गरेको छ । यसकाे कार्यान्वयनका लागि एउटा छुट्टै समिति बनाइनेछ । बैठकले २५ करोड रुपैंयासम्मको सुक्ष्म, साना र मझौला उद्यम (एमएसएमई) कर्जा प्रवाहको समेत निर्णय गरेको बताइएको छ । भारतीय केन्द्र सरकार र भारतीय रिजर्भ बैंकबीचको मतभेदलाई टार्दै गत शुक्रबार भारत सरकारका पदाधिकारी र रिजर्भ बैंकका गभर्नरबीचको सहमति अनुरुप निर्णय गरिएको हो । बैठको निर्णय अनुसार उक्त कर्जा प्रवाहका लागि रिजर्भ बैंकले सार्वजनिक क्षेत्रका बैंकको लागि कुल निष्क्रिय कर्जा अनुपात (पीएसबीएस) लाई खुकुलो बनाउनेछ । भारतीय रिजर्भ बैंकको निर्देशक मण्डलमा १८ सदस्य रहन्छन्, जसमध्ये गभर्नर, ४ जना डेपुटी गभर्नर र सरकारद्धारा मनोनित १३ जना सदस्य रहने प्रावधान छ । (एजेन्सीहरुकाे सहयाेगमा)
सिटिजन्स बैंकले साढे २ अर्ब ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासन गर्ने भएको छ । सो मात्राको बण्ड(ऋणपत्र) निष्कासन गर्नको लागि बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । बिक्री प्रबन्धकमा नियुक्ति भएसँगै ग्लोबल आइएमई क्यापिटलले बैंकको एक हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बण्ड सर्वसाधारणमा जारी गर्ने छ । ऋणपत्र निष्कासन सम्बन्धि सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत पारसमणी ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत(अर्थात २ अर्ब रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत(अर्थात ५० करोड रुपैयाँ) सर्वसाधरणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
मेगा क्यापिटल मार्केटस् संचालनमा अाउँदै, ६ महिनाभित्र कम्पनीका पूर्वाधार सम्पन्न गर्ने
काठमाडौं । मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेटले व्यवसाय संचालनमा ल्याउने भएको छ । सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस् लिमिटेड संचालनमा आउन लागेको हो । सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गको भनाई रहेको छ । अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको जनाएका छन् । संचालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताएका छन् ।