सिद्धार्थ बैंकले १३ प्रतिशत लाभांश दिने
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर समेत ८.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै सम्पन्न बैंकको ३०४ औं सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले परित गरेपछि वितरण गरिनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाटै आइएमई लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाटै आइएमई लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आइतबार बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको जुनसुकै शाखाबाट आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
मुक्तिनाथ विकास बैंकले १८ प्रतिशत बोनस र २० प्रतिशत हकप्रद जारी गर्ने, सेयर मूल्य बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १८.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.९३ प्रतिशत अर्थात २ करोड ४८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा २० प्रतिशत अर्थात १० बराबर २ का दरले हकप्रद सेयर जारी गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । १८.२५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । त्यसपछि उक्ता पुँजीमा २० प्रतिशत हकप्रद जारी पछि कम्पनीको नयाँ चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको १२औँ वार्षिक साधारणसभा यही मंसिर २९ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १८ गतेदेखि मंसिर २९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । कम्पनीले बोनस घोषणासँगै लगानीकर्तामा खुसी छाएको सेयर मूल्यले संकेत गरेको छ । आइतबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ । बिहीबार प्रतिकित्ता ४०९ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य आइतबार ५ रुपैयाँ अर्थात १.२२ प्रतिशतले बढेर प्रतिकित्ता ४१४ रुपैयाँ पुगेको छ ।