सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थानाचोकमा बुधबार आफ्नो ८३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्षिप्त जानकारी गराउँदै नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन शाखा विस्तार गरेको जानकारी दिए ।

नबिलले बिहीबारदेखि १ अर्ब २० करोडको म्युचुअल फण्ड बिक्री गर्दै, एक हजारमै लगानी गर्न सकिने

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले आगामी बिहीबार अर्थात बैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड २ को इकाई बिक्री गर्ने भएको छ । नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना नबिल ब्यालेन्स फण्ड २ को १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ । त्यस्तै, योजनाको इकाईहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाईने छ । जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । साथै, नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।

कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । बुधबार आज एक समारोहका बीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका रहने चर्चा गरे । बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए । कार्यक्रममा लम्कीचुहा नपा वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । बलिया स्थित शाखा र एटिएम समेतबाट एकै साथ कारोबार संचालनमा आएको छ । शाखा उद्घाटनको अबसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । १ हजार जनाभन्दा बढीको आँखा परिक्षण गरिएको बैंकले जनाएको छ ।