मुक्तिनाथ विकास बैंकले ल्यायो तीन नयाँ योजना, बैंकिङ्ग एपबाट रिचार्ज गर्दा बोनस पाइने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । २०७६ वैशाख १ गतेदेखि लागु गरिएको उक्त योजनामा बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको हो । भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्स्ट्यान्ट भिसा डेविट कार्ड सेवा सुविधा शुरु गरेको छ । यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेविट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेविट कार्ड लिन पाउने छन् । त्यसैगरी, मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटीएमबाट विना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ । साथै, मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ । हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता, वार्षिक ६.५ प्रतिशत ब्याज पाइने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाता: सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी पाइने छ । साथै, २५० रुपैयाँमा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंवले १०० रुपैयाँ सो खातामा जम्मा गरिदिने कम्पनीले जनाएको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी बैंकको २ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १६६.६७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २१४.८३ रुपैयाँ तोकिएको छ । त्यस्तै, ग्रामीण लघुवित्तको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३०.६७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता २१५.५५ रुपैयाँ तोकिएको छ ।