भारतको मैसुरमा कुमारी बैंक लिमिटेड पुरस्कृत
काठमाडौँ । भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो । आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रृजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ । Infosys Finacle को उक्त समारोहको यस संस्करणमा “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank र Emirates NDB (UAE) उपविजेता भएका छन् । अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
धरानमा कामना सेवाकोे ८२औं शाखा बिस्तार
काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरानमा शाखा बिस्तार गरेको छ । धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा मंगलबार ८२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदैप्रदेश नं १मा यो सँगै ६वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।
सानिमा बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता, उपचार खर्चमा ५ प्रतिशत छुट
काठमाडौँ । सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ ।सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप-प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरेका हुन् । म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचारसम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् । साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउन सक्ने छन् ।