सबै नेपालीको बैंक खातामा मुक्तिनाथको अफर, खाता खोल्दा मोबाइलमा १ सयको रिचार्ज !

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौँ बैंक खाता अभियानलाई २०७६’ अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन गरेको छ । २०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्नु हुने व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले एक सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटिसी वा एनसेल मोवाइल नम्बरमा एक सय बराबरको रिचार्ज गरिदिने जनाएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध रहेको बैंकले जनाएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् । बैंकको देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनबीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकास्योरेन्स सम्झौता भएको छ । गरिमाविकास बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवनबीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

२०५ कम्पनीमा इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंकमात्रै राम्राे !

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचिकृत २८ वाणिज्य बैंकमध्ये दुई कम्पनीमात्र अब्बल देखिएका छन् । नेप्सेले वर्गिकरण गरेको सूची अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकमात्रै ‘ए’ वर्गमा परेका कारण अन्यभन्दा अब्बल मानिएका हुन् । नेप्सेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सूचिकृत कम्पनीहरुलाई विभिन्न चार वर्ग(ए, बी, जी र जेड)मा वर्गिकरण गरेको छ । जसअनुसार ‘ए’ वर्गमा जम्मा २ कम्पनी परेका छन् भने ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् । नेप्सेले तयार पारेको सूचीअनुसार सबैभन्दा धेरै कम्पनी ‘जेड’ वर्गमा परेका छन् । (कुन कम्पनी कुन वर्गमा परे हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।) नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ गत २०७५ साउन १ गतेदेखि कार्यान्वयमा ल्याएको थियो । सोही व्यवस्थाअनुरुप संगठित संस्थाको चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरिएको नेप्सेले जनाएको छ । सोही अनुसार हाल जम्मा दुई वाणिज्य बैंकमात्र चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको क्षेत्रमा अब्बल देखिएको मानिन्छ । साथै, उक्त वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित वर्गमा पर्नु नपर्ने कारण सहित ३५ दिनको म्याद भित्र दावी सहित निवेदन दिन नेप्सेले आग्रह गरेको छ ।