बालकोटमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाकासांसद महेश बस्नेतले शाखाको उद्घाटन गरेका हुन् । बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बस्नेतज्यूले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे । उक्त कार्यक्रममा प्रभु बैक लि.का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक  ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

हिमालयन बैंकको ५५ करोड खाएर फरार विकास कोठारीकाे पाठ : विदेशी भन्दैमा मरिहत्ते नगर्नू

काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने गरी २०५९ सालमा दर्ता भएको एभरेष्ट पोलिमर प्रा.लि.का सञ्चालक विकास कुमार कोठारीले कारखाना सञ्चालनका लागि भन्दै हिमालयन बैंकसँग २०६४ माघमा ६५ करोड लाख ९० लाख ५८ हजार रुपैंया सीमासम्मको ऋण स्वीकृत गराई पैसा निकाले । उद्योग धितोमा राखेर बैंकले दिएकाे ऋण अहिले ढुबेकाे छ । एभरेष्ट पाेलिमरसँग ६४ करोड २३ लाख रुपैंया लिन बाँकी हुँदा ऋणी विकास कुमार काेठारी भरार भए । ऋण नतिरेपछि हिमालयन बैंकले ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गरी धितो लिलाम प्रक्रिया सुरु गर्याे । न्यायाधीकरणकाे प्रक्रिया पुरा गरेर धिताे लिलामी गर्न जाँदा कम्पनी लगभग नाम मात्रकाे थियाे । काेठारीले उद्याेगका अधिकांश सामानहरु बेचिसकेकाे ऋणदाता बैंक र न्यायाधीकरणले त्यसपछि मात्रै थाहा पायाे । उद्याेगमा बचेका केही सामानकाे लिलामी गर्दा ९ करोड रुपै‌या मात्रै असुल भयो । कम्पनीका पार्टपुर्जादेखि सामानहरु भारततिर पठाएका कोठारी आफू भने क्यानडा फरार भए । कम्पनी रजिष्ट्रार कार्यालयमा विसं २०५९ जेठ १९ गते दर्ता रही ६ कराेड ५९ लाख रुपैंया चुक्तापुँजी रहेकाे उक्त कम्पनी सबै प्रकारका प्थालेट, प्लास्टिकका सामान उत्पादन गर्ने उद्देश्यका साथ दर्ता भएकाे कम्पनी हाे । यसले हेटाै‌ंडामा ठूलाे उद्याेग पनि खाेल्याे तर बैंकबाट ऋण स्वीकृत गराएपछि कम्पनीका सम्पत्तिहरु सबै बेच्दै गयाे । फसेकाे ऋण असुलीका लागि हिमालयन बैंक अझै संघर्ष गर्दैछ तर क्यानडा भागेका काेठारीलाई पक्रने कानूनी आधार नपाएर ऋण असुली न्यायाधीकरण बसिरहेको छ । ऋण असुली न्यायाधीकरणका सेस्त्रेदार भेषराज कोइरालाले न्यायाधीकरणले देवानी प्रकृतिकाे मात्रै निर्णयहरु गर्ने भएकाेले पक्राउ पुर्जी जारी गर्ने आदेश न्यायाधीकरणबाट हुन नसक्ने र यसका लागि सामान्य अदालत नै जानुपर्ने भएकाेले त्यसाे हुन नसकिरहेकाे बताए । त्यसमाथि विदेशमा भागेका व्यक्तिलाई नेपाल ल्याउन इन्टरपाेलसँग सहयाेग गर्नुपर्ने भएकाेले त्यसका लागि झनै लामाे प्रक्रिया पूरा गर्नुपर्ने र त्याे अधिकार आफुहरुसँग नभएकाे बताए । हाल कोठारी क्यानडामा उच्च प्राेफाइलमा बसोबास गरिरहेको जानकारी आएकाे सेस्त्रेदार भेषराज कोइरालाकाे भनाई थियाे । ‘आदेशका रुपमा नभई आग्रहका रुपमा न्यायाधीकरणले इन्टरपोलसँग छलफल गर्न प्रहरीलाई पत्राचार त गर्यो तर प्रहरीलाई पनि कानूनी प्रक्रियाविना विदेशमा रहेको व्यक्तिलाई पक्राउ गर्न पहल गर्ने छुट भएन, त्यसैले यो प्रक्रिया रोकियाे’- उनले भने । उता बैंक भने काेठारीसँग ऋण असुली गर्ने प्रक्रिया जारी नै रहेकाे बताउँछ । हिमालयन बैंकका जनसम्पर्क अधिकृत शितल कोइरालाले काेठारीकाे सञ्चालनमा रहेकाे कम्पनीले बैंकसँग ऋण लिएकाे र नतिरेपछि असुलीकाे कानूनी प्रक्रिया अघि बढेकाेमा याे प्रक्रिया अझै जारी रहेको बताए । तर न्यायाधीकरणले अन्तिम फैसला गरेकाे ४ वर्षसम्म पनि उनसँग सम्पर्क समेत गर्न नसकिएकाे न्यायाधीकरण स्राेतले जानकारी दियाे । काेठारीकै नाममा भारतकाे नयाँदिल्लीमा पनि साेही प्रकृतिकाे कम्पनी रहेकाे बताइएकाे छ । काेठारी पनि कहिले क्यानडा र कहिले भारत ओहोरदोहोर गरिरहन्छन् । तर नेपाली पक्षले केही गर्न सकेकाे छैन । वित्तीय क्षेत्रका जानकारहरुका अनुसार कुनै पनि वित्तीय संस्थाबाट लिएका ऋण चुक्ता नभएसम्म याे असुली गर्ने प्रक्रिया सकिँदैन । तर हिमालयनकाे याे ऋण असुली हुने सम्भावना न्युन छ । काेठारी त एक पात्र मात्र हुन्, यस्ताे प्रवृत्ति व्यापक छ । नेपालले लगानी सम्मेलन गरी विदेशी लगानीकर्तालाई नेपालमा आकर्षित गर्दैगर्दा नेपाली बैंक तथा वित्तीय संस्थाहरु विदेशी लगानीका त्यस्ता आयोजनामा ऋण लगानी गर्न उत्साहित देखिएका छन् । तर विदेशी कम्पनी भएकै आधारमा नि:शर्त गरिने लगानी भने घातक हुनसक्ने पाठ सिक्नुपर्ने  न्यायाधीकरणका सेस्त्रेदार काेइराला बताउँछन् ।

सिन्धु बिकास बैंकबाट जिआइसी नेपालको बीमा सेवा पाइने

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच आईतबारका सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।