पैसाको अस्तित्व हराउँदैः सिक्का पैसा लिन मान्दैनन् बैंकहरु
भजनी । बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् । ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरु लिन मान्दैनन् । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको माग र सानो २र४ रुपैयाँको कारोबारमा सिक्का नै दिँदै आएका छन् । तर, त्यही सिक्का ग्राहकले जम्मा गर्न वा साट्न गए बैंक तथा वित्तीय संस्थाहरुले नसाट्ने गरेको गुनासो स्थानीयले गर्न थालेका छन् । पुरानो चल्तीमा १/ २ रुपैयाँ आउँथ्यो, अहिले पाँच रुपैयाँभन्दा सानो त्यही सिक्का मात्र आउँछ । तर, त्यो सिक्का अहिले बजारमा न त ग्राहकले फिर्ता लिन्छन् न त व्यापारीहरुले नै । एक व्यापारी ईश्वरीप्रसाद ज्ञवालीले आफूसँग छ/सात हजार सिक्का पैसा रहे पनि बैंकहरुले साट्न नमानेपछि त्यसै राख्नु परेको बाध्यता सुनाएका छन् । “ग्राहकले एक/दुई रुपैयाँ सिक्का पैसा दिन्छन्, नलिउँ भन्नु पनि भएन”, ज्ञवालीले भने, “एक/दुई रुपैयाँ थुपार्दाथुपार्दै अहिले छ/सात हजार सिक्का पैसा छ । त्यो पैसा न त बैंकले लिन्छ न त ग्राहकले लिन मान्छन् ।” कैलालीको टीकापुर क्षेत्रका लागि नेपाल राष्ट्र बैंकसंँग नोट कोषको कारोबार गर्दै आएको नेपाल बैंक लिमिटेड टीकापुर शाखा प्रबन्धक हरिहरप्रसाद भण्डारीले नेपाल राष्ट्र बैंकको सिक्का पैसा लिने नीतिगत व्यवस्था नभएका कारण आफूहरुले सिक्का पैसा ग्राहकलाई दिने गरेको भए पनि ग्राहकको सिक्का पैसा लिने नगरेको बताउनुभयो । “नेपाल रास्ट्र बैंकले सिक्का पैसा दिने गरेको छ । तर, फिर्ता लिने गरेको चाहिँ छैन”, प्रबन्धक भण्डारीले भने, “सिक्का पैसा प्रयोग हुँदै जाँदा त्यसको चमक हराउँदै जान्छ र त्यसको चमक हराएपछि सिक्का पैसाको अस्तित्व नै रहँदैन । पूजा पाठमा प्रयोगका लागि ग्राहकले लिन्छन् । नेपाल राष्ट्र बैंकले नलिने भएकै कारण हामीले पनि साट्न छोडेका हौँ ।” स्थानीय व्यापारी नन्दसिंह विश्वकर्माले ग्राहकबाटै लिएको सिक्का पैसा सङ्कलन गर्दा चार/पाँच हजार रहेको बताउँदै बैंकहरुले नलिने भएपछि त्यो पैसा के गर्ने भन्नेमै अन्योलमा भएको बताए । “मसँंग चाररपाँच हजार सिक्का पैसा छ, दुई रुपैयाँको सलाई किन्दा सिक्का नै दिन्छन्, पाँच रुपैया दिँदा तीन रुपैयाँ सिक्का नै दिनुपर्छ तर बैंकले त्यही सिक्का चलाउँदैनन्”, व्यापारी विश्वकर्माले भने, “बैंकले सिक्का पैसा साट्दैन भने ग्राहकबाट हामीले कसरी लिने लिएर पनि के गर्ने नचल्ने हो भने बन्द गर्नु पर्योे नभए ग्राहकको पैसा साट्नुपर्यो ।” धेरैलाई बैंक तथा वित्तीय संस्थाले सिक्का साट्ने नसाट्नेमा जानकारी नै छैन । सिक्का पैसा मागे जति पनि दिने तर, फिर्ता लिने बेला बैंक तथा वित्तीय संस्थाहरुले नलिनु दुःखद् भएको स्थानीय निरा काफ्लेले बताउँछन् । उनले अहिले पनि स्थानीय व्यापारी तथा स्थानीय जनतासँग थुप्रै सिक्का पैसा रहेको बताउँदै यही अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले गैरजिम्मेवार काम गर्न नहुने बताएका हुन् । उता, नेपाल राष्ट्र बैंक धनगढी शाखाका कायममुकायम प्रमुख डिल्लीराम पोखरेलले नेपाल राष्ट्र बैंकका लागि बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा नलिने कुरा एकदमै नौलो भएको बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकमा सिक्का पैसा व्यवस्थापनका लागि स्टोरको समस्या भएका कारण वाणिज्य बैंकहरुले लिएको सिक्का पैसा नेपाल राष्ट्र बैंकले लिन नसकेको बताउँदै यदि कोही कसैबाट ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले नलिएको उजुरी परेमा कारवाहीको दायरामा ल्याउने बताएका छन् । “अहिलेसम्म हामीलाई यस विषयमा कुनै जानकारी नै छैन, यो एकदमै नौलो कुरा हो”, कायममुकायम प्रमुख पोखरेले भने, “बजारमा प्रशस्तै सिक्का पैसा छ । त्यो सिक्का पैसा बैंकहरुले साट्नुपर्छ ।” रासस
ग्लोबल आइएमई बैंकको धनकुटाको हिलेमा शाखा उद्घाटन
काठमाडौं । ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मेयर तामाङ्गले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पु¥याउने बताए । ढकालले बैंकिङ्ग सेवाको पहुचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले हाँले बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै उनले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताए । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले बैंकले साना तथा स्थानीय व्यवसायीलाई फाइदा पुग्ने बताए । घिमिरेले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गरे ।
एनआईसी एशियाको मोबाइल बैंकबाट मोबाइल किन्दा १० प्रतिशत छुट
काठमाडौं । एनआई सीएशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याक सम्झौता भएको छ । टेक्नोलोजीको रिचार्जर एप प्रयोग गरी एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोडेलको मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो । अरु बैंकको मोबाइल बैंकिङ मार्फत् उक्त मोबाइल फोन खरिद गर्दा भने ५% मात्रै क्यासब्याक पाइन्छ । यो योजना भदौ १८ देखि असोज १ गते सम्म सञ्चालन हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष श्री किसन राईले हस्ताक्षर गरेका छन् । मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनआईशी एशिया करिब १८ लाख ग्राहकका साथ देशको सबैभन्दा ठूलो शाखासञ्जाल भएको बैंक हो ।