काठमाडौं । भदौ १४ गते नेपाल र भारतका विभिन्न बैंकका एटीएमबाट भएका शंकास्पद कारोबारहरुको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी शनिबार विहान ११ः०० बजे देखि साँझ ४ः३५ सम्ममा कुल ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ चोरी भएको छ ।
नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५०० रुपैयाँ र भारतभित्रबाट ६ वटा नेपालका वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैंकका १३२ एटीएमबाट भा.रु. १ करोड ५ लाख ८७ हजार २०० एटीएमबाट चोरी भएको छ ।
यद्यपि उक्त समय भएको कारोबारहरुमध्ये केही कारोबार वास्तविक रहेको पाइएको र थप अन्य कारोबारहरुको फेरिफिकेशन गर्ने कार्य भई रहेकोले क्षति भएको रकम सो भन्दा केही कम हुन सक्ने राष्ट्र बैंकको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ ।
भीषा नेटवर्क वा नेप्स स्वीच वा दुई प्रणालीको बीच कही कतै कसैले अनधिकृत रुपमा नियन्त्रणमा लिई उल्लेखित फ्रडुलन्ट कारोबार हुन गएको राष्ट्र बैंकको अनुमान रहेको छ । घट्नाको सम्बन्धमा फरेन्सिक एक्पर्टबाट सुक्ष्म अध्ययन र तथा विश्लेषण गरी प्रतिवेदन प्राप्त गर्नु पर्ने सुझाव अनुसन्धान टोलिले दिएको छ ।
यसरी गर्न सकिन्छ सुरक्षित कारोबार
डिजिटल कारोबारलाई सुरक्षित बनाउने अध्ययन टोली केही महत्वपूर्ण सुझाव पनि दिएको छ । बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी र पीएसओलाई आ–आफ्नो सूचना प्रविधि तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानी प्रणालीको जोखिम मूल्यांकन गरी जोखिम न्यूनीकरणका आवश्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिनु पर्ने सुझाव अध्यनन टोलिले दिएको छ ।
कार्ड प्रणाली लगायत भीषा, मास्टर कार्डको हिसाब मिलान कारोबार भएको अर्को दिन भित्र गर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव टोलिको छ । त्यस्तै, नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका नेपाली मुद्राका डेबिट तथा क्रेडिट कार्डहरु अब उप्रान्त अनिवार्य रुपमा प्राप्त गर्ने र निष्काशन गर्ने दुवैतर्फ चिप र पीनको माध्यमबाट मात्र कारोबार हुने व्यवस्था मिलाउनु पर्ने, नेपाल बाहिर यस्तो कार्ड प्रयोग हुँदा नेपालका निष्काशनकर्ताले फलव्याक कारोबार स्वीकार नगर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव दिईएको छ ।
नेपाली बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका डलर कार्डको हकमा विदेशी टर्मिनलमा एक्वाएर हुँदा म्यागनेटिक ट्रिपको फलव्याक कारोबार नहुने व्यवस्था मिलाउनु पर्ने सुझाव दिईएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट यसअघि जारी भएका म्याग्नेटिक ट्रिप कार्ड ३ चेपबेस कार्डले विस्तापित गर्नु पर्ने सुझाव दिइएको छ ।
नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण टर्मिनल डिभाइस (पीओएस वा एटीएम) लाई ३ महिनाभित्र चीप वा पीन लाई स्वीकार गर्न सक्ने गरी सक्षम बनाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने भनिएको छ ।
कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्नु पर्ने, कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनु पर्ने, कार्डसँग सम्बन्धित प्रणालीको जोखिम मूल्यांकन त्रैमासिक रुपमा गरी सम्बन्धित बैंकको जोखिम व्यवस्थापन समितिमा छलफल गर्ने व्यवस्था मिलाउनु पर्ने, एटीएम कक्षमा जडित सीसीटीभीको नियमित रुपमा केन्द्री कृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने, यस्तो अनुगमन शनिबार लगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव पनि दिइएको छ ।
वित्तीय सेवा प्रदायक संस्थाहरुले साईबर सेक्युरिटीको जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न साइबर सेक्युरिटी बीमा गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने, कार्डबाट हुने कारोबारको सीमा नियन्त्रणका लागि भिसा, मास्टरकार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालकहरुबाट सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबारको सीमा निर्धारण गर्ने सेवा लिनुपर्ने व्यवस्था मिलाउनु पर्ने लगायत सुझाव दिइएको छ ।