ऋण दिँदै फस्दै बैंकहरू, भदौमा मात्रै ३८५ ऋणी कालोसूचीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन अयोग्य व्यक्तिको संख्या पछिल्लो समय अझ बढी थपिदै गएको छ । भदौ महिनाको २० गतेसम्म नौ हजार ३ सय ८५ ऋणी कालोसूचीमा परेका छन् । सोमध्ये भदौ महिनामात्रै ७ सय ४७ ऋणी कालोसूचीमा परेको कर्जा सूचना केन्द्र (सीआईबी)का अपरेशन हेड ओमकारलाल श्रेष्ठले जानकारी दिए । बैंक तथा वित्तीय संस्थासँग कर्जा लिएर नतिर्नेको संख्या बढेसँगै कालोसूचीमा पर्नेको संख्या बढेको हो । ‘यस आवको साउनमात्रै ३ सय ६१ ऋणी कालोसूचीमा परेका थिए,’ उनले भने–‘यो अवधिमा कालोसूचीमा पर्ने ऋणीको संख्या अत्यधिक बढेको छ ।’ गत आर्थिक वर्षमा २ हजार ५ सय ४० ऋणी कालोसूचीमा परेका छन् । २०४६ सालदेखि ऋण लिएर नतिर्दा ऋणीको संख्या बढ्दै गएको हो । भदौ २० सम्म नौ हजार दुई सय ९५ ऋणी कालो सूचीमा परेको सीआईबीको तथ्यांक छ । कालोसूचीमा पर्नु भनेको ऋण लिन अयोग्य हुनु हो । कालोसूचीमा परेका ऋणी तथा फर्मले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउँदैनन् । सूचीमा भएका व्यक्तिले राष्ट्र बैंकबाट लाइसेन्स लिएर संचालन वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाबाट ऋण लिन पाउँदैनन् । अघिल्लो आर्थिक वर्षमा कर्जा लिएर ऋण नतिर्नेको संख्या ह्वात्तै बढेको छ । कर्जा प्रभावमा भएको वृद्धिसँगै कर्जा नतिर्नेको संख्या पनि बढेको हो । कालोसूचीमा परेर पनि ऋण चुक्ता गरे हटाउने प्रावधान छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा कालोसूचीमा परेका ऋणीमध्ये ३ सय ४१ सूचीबाट हटेका छन् । गत आर्थिक वर्षमा कालोसूचीबाट ६ सय २८ वटा ऋणीको संख्या कालोसूचीबाट हटेका छन् । साउनमा कालो सूचीमा परेका ऋणीमध्ये ६१ वटाले आफ्नो नाम कालोसूचीबाट हटाएको कर्जा सूचना केन्द्रले जानकारी दिएको छ । कालोसूचीमा पर्ने ऋणीमध्ये कतिपय कर्जा धेरै पुरानो भएकोले ऋण उठ्ने सम्भावना अत्यन्त कम भएको बताइएको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार २०४६ साल फागुन २१ गतेदेखि पुराना ऋण खराव कर्जामा गएका छन् । विशेष गरी त्यति बेला निजी बैंकहरूको थिएनन् । यी कर्जा सबै सरकारी बैंकको हो । ऋणीको सूचना उपलब्ध गराउने कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत साउनसम्म एक वर्षको अवधिमा कर्जा नतिरेर कालोसूचीमा पर्नेको संख्या १ हजार ५ सय ७ ले बढेको छ । कानुनी व्यवस्थाअनुसार कालोसूचीमा पर्ने व्यक्तिको एकाघर सदस्यले पनि ऋण लिन नपाउने व्यवस्था छ । पछिल्लो समय ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेमा हाउजिङ व्यवसायदेखि अन्य उद्योग व्यवसायसँग सम्बन्धित छन् । ऋण नतिरे पनि कालोसूचीमा पर्न सामान्यतया वर्ष दिनभन्दा बढी समय लाग्छ । बैंक वित्तीय संस्थाले कुनै पनि तरिकाबाट ऋण उठाउन नसक्ने देखेपछि यस्तो सूचीमा राख्ने गरिन्छ । बैंक वित्तीय संस्थाबाट कर्जा लिएर एक वर्षसम्म साँवा र ब्याज भुक्तानी नगरे कालोसूचीमा राख्ने प्रावधान छ । कर्जा लिँदा देखाइएको प्रयोजनभन्दा फरकमा प्रयोग गरे पनि कालोसूचीमा परिन्छ । ऋणीले धितो राखेको वस्तु ह्रास भए, टाट पल्टे वा गायव भए पनि कालोसूचीमा राख्न सकिन्छ । साथै कुनैपनि संघ संस्थाले खातामा रकम नभई चेक जारी गरेमा पनि बैंक वित्तीय संस्थाले कालोसूचीमा राख्न सक्ने व्यवस्था छ । नक्कली चेक, ड्राफ्ट, विदेशी मुद्रा प्रयोग गर्ने व्यक्तिलाई पनि यसले पहिचान गर्छ । कालोसूचीमा परेपछि ऋण बैंक तथा वित्तीय संस्थाबाट नपाउनेसहित क्रेडिट, डेबिट कार्ड जफत गर्ने प्रावधान छ । यस्तो कारबाहीमा राहदानी जफत गर्ने प्रावधानलाई पनि समेटिएको छ । तर, यस्तो कारवाही भने विल्कुलै कम हुने गरेको छ । के हो कालोसूची ? बैंक तथा वित्तीय संघसस्थाबाट लिएको ऋण ऋणीले तोकिएको मितिमा भुक्तानी नगरे ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ । तीन महिनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा नै मान्ने, तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेकोलाई कमसल, ६ महिनादेखि एक वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक वर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाको वर्गमा सूचीकृत गरिन्छ । यसरी एक वर्ष भाखा नाघेर खराब कर्जाको सूचीमा सुचीकृत भएको कर्जालाई राष्ट्र बैकले तोकिएअनुसार बैक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्छ । यस्तो कर्जाका ऋणीहरूलाई कालोसूचीमा राखिन्छ ।

सानिमा बैंकले ल्यायो गैर आवासीय नेपालीहरुलाई एनआरएन मुद्दती खाता

काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टलि{ङ वा यूरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५%, पाउण्ड स्टलि{ङमा ३% र यूरोमा २% को उच्चतम व्याजदर प्राप्त गन{ सकिन्छ । सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम दश हजार (अमेरिकी डलर वा पाउण्ड स्टलि{ङ वा यूरो) हुनुपर्नेछ । २ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताकाे नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् । यो खाता खोल्न सानिमा बैंकको नजिकैको शाखा वा सानिमा बैंकको वेवसाईट डब्लुडब्लुडब्लु डट सानीमा बैंक डट कममा लग इन गरी अनलाईनबाटै आवेदन दिन सकिने छ । खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरिएको गैर आवासीय नेपालीको परिचयपत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि र हाल सालै खिचिएको फोटो बैंकलाई बुझाउनु पर्नेछ । सानिमा बैंकका सात वटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।

नेपालमै पहिलोपटक सिभिल बैंकले ल्यायोे ‘किस्ताबन्दी बचत योजना’, मासिक बचत, एकमुष्ट फिर्ता

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाली बैंकहरुकै इतिहासमा नौलो निक्षेप योजना ल्याएको छ । बचत खाता र मुद्दती खाताको विशेषतालाई एउटै खातामा समेट्दै बैंकले ‘किस्ताबन्दी बचत योजना’ सार्वजनिक गरेको हो । उक्त बचत योजना अनुसार कुनै बचतकर्ताले भविष्यको कुनै कालखण्डमा आवश्यक पर्ने रकमको जोहो आजैदेखि किस्ताबन्दीमा गर्न सक्नेछन् भने सो अवधि पूरा भएपछि एकमुष्ट रुपमा सो रकम प्राप्त गर्नेछन् । यो योजना १ वर्षदेखि ७ वर्षसम्मको लागि ल्याइएको छ तर ग्राहकको इच्छा र आवश्यकताअनुसार त्यसभन्दा बढी समयावधिको लागि पनि त्यस्तो बचत योजना सञ्चालन गर्नसक्ने बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सिभिल बैंक प्रदेश ३ का प्रमुख भोलाबहादुर विष्टले सो योजनाको उद्घाटन गरेका हुन् यद्यपि यो योजना बैंकका देशभर रहेका शाखा कार्यालयमा लागु हुने जनाइएको छ । कस्तो छ योजना ? बैंकले सार्वजनिक गरेको सो बचत योजनाले समयावधि र प्रतिमहिना बचत गर्ने किस्ताबन्दीको रकमअनुसार समयावधिपछि भुक्तानी हुने रकम निर्धारण गरिएको छ । जस्तै प्रतिमहिना ७९६७ रुपैंया बचत गरेमा बचतकर्ताले १ बर्षपछि एकमुष्ट रुपमा रु १ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् । त्यस्तै, मासिक ५१३५ रुपैंया बचत गर्दैजाने बचतकर्ताले ४ वर्षपछि एकमुष्ट रुपमा ३ लाख रुपैंया प्राप्त गर्न सक्नेछन् । बैंकले ७ बर्षसम्म मासिक ८३४७ रुपैंया बचत गर्नेलाई सो समयपछि १० लाख दिनेछ । यस्तो योजनाअनुसार बचतकर्ताले आफ्नो क्षमताअनुसार रु १००० रुपैंयादेखि अधिकतम जतिपनि रकम राख्न सकिने बैंकका प्रदेश ३ प्रादेशिक कार्यालयका प्रमुख विष्टले बताए । उक्त योजनाअनुसार बचत गरेकालाई आवश्यक परेमा सो खाताको धितोमा ऋण दिने, नियमित रकम जम्मा गर्ने अक्षमतामा रकम फिर्ता हुने व्यवस्था समेत रहेको जनाइएको छ । मुद्दती निक्षेपमा भन्दा बढी प्रतिफल बैंकले यो स्कीमबाट प्राप्त हुने ब्याज कति हो भन्नेबारे केही खुलाएको छैन तर बैंकले ल्याएको योजना हेर्दा योजनाको प्रतिफल मुद्दति निक्षेपको भन्दा बढी देखिएको छ । बैंले ल्याएको ती योजनाहरुको एफभीआईएफए क्याल्कुलेटर अनुसार ती योजनाहरुको प्रतिफल दर १० प्रतिशतको हाराहारीमा हुने देखिएको हो ।