कुमारी बैंकले गर्याे कोरोना रोकथाम कोषमा ७० लाख सहयोग

काठमाडौं । कुमारी बैंकको विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको रोकथामका निमित्त सरकारी कोषमा ७० लाख सहयोग गरेको छ । प्रत्येक प्रदेशबाट १० लाख रुपैयाँको दरले बैंकले कूल ७० लाख रुपैयाँको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले उक्त रकम सहयोग गरेको हो । बैंकले प्रदेश सरकारको कोषमा १० लाख रुपैयाँका दरले जम्मा हुने गरी कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो सहयोग रकम उपलब्ध गराएको हो । गत चैत्र १९ गते बुधबारका दिन केन्द्रिय प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई एक समारोहबीच बैंकका तर्फबाट हेटौंडा शाखा प्रबन्धक कृष्ण शर्माले सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसैगरी, बैंकको तर्फबाट प्रदेश नं ५ मा सोही प्रदेशका मूख्यमन्त्री शंकर पौडेललाई बुटवलका शाखा प्रबन्धक सुदन खत्री र कर्णाली प्रदेशमा उक्त प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेतका शाखा प्रबन्धक हिमाल मुढभरीले सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगप्रति सम्बन्धित सरकार प्रमुखहरुले धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघसंस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थापनमा सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधा उपलब्ध गराउंदै आएको छ ।

विदेशमा रहेका नेपाली विद्यार्थीलाई प्रतिव्यक्ति ५ सय डलरसम्म पठाउन पाइने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणपछि संसारका विभिन्न देशमा अध्ययनरत विद्यार्थीलाई खान बस्न नै समस्या भएपछि प्रतिव्यक्ति ५ सय अमेरिक डलर बराबर रकम पठाउन पाइने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले आज (१९ चैतमा) बैंक वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलरसम्म रकम पठाउन पाउने व्यवस्था गरिएकोले सटही सुविधा दिन भनेको छ । कोभिड १९ संक्रमणले अधिकांश देशमा लकडाउन गरिएको कारण नेपाली विद्यार्थीलाई खान बस्न नै समस्या भएकोले नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि रकम पठाउन पाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिए । ‘यो महामारीको बेलामा नेपाली विद्यार्थीलाई आवश्यक खर्चको व्यवस्थापन गर्न सहज होस भनेर प्रतिविद्यार्थी ५ सय अमेरिकी डलरसम्म पठाउन पाइने व्यवस्था गरिएको हो, कुनै नेपाली अभिभावकले विदेशमा अध्ययरत विद्यार्थीलाई रकम पठाउन चाहेमा नजिकको बैंक वित्तीय संस्थामा गएर रकम साटेर पठाउन सक्ने बाटो खोलेका छौं,’ कार्यकारी निर्देशक मिश्रले भने । यसरी रकम पठाउनको लागि पठाइएको रकम प्राप्त गर्ने लाभग्राही विदेशमा रहेको नेपाली विद्यार्थी हुनुपर्नेछ । यस्तै, निर्वाह खर्च वापतको रकम पठाउँदा रकम पाउने व्यक्ति विदेशमा रहेर अध्ययन गरिरहेको खुल्ने कागजसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ । रकम पठाउँदा प्रतिविद्यार्थी बढीमा ५ सय अमेरिकी वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म एक एकपटक मात्र पठाउन सकिनेछ । विद्यार्थीका अभिभावक÷आफन्तले मात्र यसरी रकम पठाउन पाउने, सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने, सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको ७ दिनभित्रमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा सम्बन्धित बैंक वित्तीय संस्थाले रिपोर्टिङ गर्नुपर्ने लगायतका शर्त भने तोकिएको छ । यसरी लिइएको रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक÷आफन्त स्वयम जिम्मेववार हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ । एक दिनमा १० किलो सुन मात्रै ल्याउन पाइने यस्तै, राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । अहिलेसम्म दैनिक २० केजी सुन आयात गर्न पाइने नियम परिवर्तन गर्दै राष्ट्र बैंकले अवदेखि दैनिक १० केजीसम्म मात्रै सुन आयात गर्न पाइने नीतिगत व्यवस्था गरेको हो । केही दिनअघि मन्त्रिपरिषदले सुन आयातको दैनिक कोटा प्रतिदिन २० केजीबाट घटाएर १० केजीमा सिमित गर्ने निर्णय गरेको थियो । सरकारले गरेको सो निर्णय कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । मरिच, सुपारी र महंगा गाडी आयातमा प्रतिबन्द राष्ट्र बैंकले नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा, तयारी मदिरा र अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारी साधन आयातमा पनि प्रतिबन्द गरेको छ । यस्ता बस्तु आयातमा रोक लगाउने निर्णय पनि केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले गरेको थियो । सो निर्णय कार्यान्वयन गर्नको लागि नै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो । कोभिड १९ संक्रमणको कारण विश्व तथा नेपाली अर्थव्यवस्थामा मन्दी आउने चेतावनी अन्तराष्ट्रिय मुद्राकोषले दिइरहेको सन्दर्भमा विदेशी मुद्राको संचित जोगाउन राष्ट्र बैंकले यस्तो पहल गरेको हो ।

कोरोना रोकथामकाे लागि राष्ट्रिय वाणिज्य बैंकले दियो साढे एक करोड रुपैयाँ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो मात्राको आर्थिक सहयोग गरेको हो । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उक्त कोष स्थापना गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको हो । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे छ । बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ । सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु देहाय बमोजिम खोलिएका छन् । यी खाताहरुमा कनेक्ट आईपीएस, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने छ । १. १ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको प्रंदेश १ कोरोना जन सुरक्षा कोषको खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर २. २ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर ३. बागमती प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा ४. गण्डकी प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक ५. ५ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल ६. कर्णाली प्रदेश सरकारद्धारा संचालन भएको प्रदेश विपत व्यवस्थापन कोषको खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत ७. सुदूर पश्चिम प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी