कोरोना रोकथामको लागि कृषि विकास बैंकको प्रदेश कार्यालय भैरहवाले दियो ५ लाख रुपैयाँ

काठमाडौं । कृषि विकास बैंकको ५ नं. प्रदेश कार्यालय भैरहवाले कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो मात्राको सहयोग गरेको हो । कृषि विकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्य मन्त्री कार्यालयमा गई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त समयमा प्रदेश निर्देशकले कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका विभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेकोमा बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरीरहेको जानकारी गराएका छन् । यस अघि कृषि बिकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारत सिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । साथै बैंकले नेपालगंज स्थीत रुपडिया नाकामा समेत ट्यांकी सहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो । साथै यस अघि कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो । ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् । मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ्ग र क्युआर भुक्तानीलाई सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ ।

सिटिजन्स बैंकले कोरोना रोकथामका लागि प्रत्येक प्रदेशलाई दियो ७/७ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि प्रत्येक प्रदेशलाई ७ लाख रुपैयाँ दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उक्त सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा कूल ४९ लाख रुपैयाँ सहयोग गरेको छ । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएका छन्। यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै, यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ र हरेक एटीएममा पर्याप्त मात्रामा नगद रहेको कुरा समेत बैंकले जनाएको छ ।