काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणपछि संसारका विभिन्न देशमा अध्ययनरत विद्यार्थीलाई खान बस्न नै समस्या भएपछि प्रतिव्यक्ति ५ सय अमेरिक डलर बराबर रकम पठाउन पाइने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आज (१९ चैतमा) बैंक वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलरसम्म रकम पठाउन पाउने व्यवस्था गरिएकोले सटही सुविधा दिन भनेको छ ।
कोभिड १९ संक्रमणले अधिकांश देशमा लकडाउन गरिएको कारण नेपाली विद्यार्थीलाई खान बस्न नै समस्या भएकोले नो अब्जेक्सन लेटर नलिएका विद्यार्थीलाई पनि रकम पठाउन पाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिए ।
‘यो महामारीको बेलामा नेपाली विद्यार्थीलाई आवश्यक खर्चको व्यवस्थापन गर्न सहज होस भनेर प्रतिविद्यार्थी ५ सय अमेरिकी डलरसम्म पठाउन पाइने व्यवस्था गरिएको हो, कुनै नेपाली अभिभावकले विदेशमा अध्ययरत विद्यार्थीलाई रकम पठाउन चाहेमा नजिकको बैंक वित्तीय संस्थामा गएर रकम साटेर पठाउन सक्ने बाटो खोलेका छौं,’ कार्यकारी निर्देशक मिश्रले भने ।
यसरी रकम पठाउनको लागि पठाइएको रकम प्राप्त गर्ने लाभग्राही विदेशमा रहेको नेपाली विद्यार्थी हुनुपर्नेछ । यस्तै, निर्वाह खर्च वापतको रकम पठाउँदा रकम पाउने व्यक्ति विदेशमा रहेर अध्ययन गरिरहेको खुल्ने कागजसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ ।
रकम पठाउँदा प्रतिविद्यार्थी बढीमा ५ सय अमेरिकी वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म एक एकपटक मात्र पठाउन सकिनेछ । विद्यार्थीका अभिभावक÷आफन्तले मात्र यसरी रकम पठाउन पाउने, सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने, सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको ७ दिनभित्रमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा सम्बन्धित बैंक वित्तीय संस्थाले रिपोर्टिङ गर्नुपर्ने लगायतका शर्त भने तोकिएको छ ।
यसरी लिइएको रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक÷आफन्त स्वयम जिम्मेववार हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
एक दिनमा १० किलो सुन मात्रै ल्याउन पाइने
यस्तै, राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । अहिलेसम्म दैनिक २० केजी सुन आयात गर्न पाइने नियम परिवर्तन गर्दै राष्ट्र बैंकले अवदेखि दैनिक १० केजीसम्म मात्रै सुन आयात गर्न पाइने नीतिगत व्यवस्था गरेको हो ।
केही दिनअघि मन्त्रिपरिषदले सुन आयातको दैनिक कोटा प्रतिदिन २० केजीबाट घटाएर १० केजीमा सिमित गर्ने निर्णय गरेको थियो । सरकारले गरेको सो निर्णय कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
मरिच, सुपारी र महंगा गाडी आयातमा प्रतिबन्द
राष्ट्र बैंकले नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा, तयारी मदिरा र अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारी साधन आयातमा पनि प्रतिबन्द गरेको छ । यस्ता बस्तु आयातमा रोक लगाउने निर्णय पनि केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले गरेको थियो । सो निर्णय कार्यान्वयन गर्नको लागि नै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।
कोभिड १९ संक्रमणको कारण विश्व तथा नेपाली अर्थव्यवस्थामा मन्दी आउने चेतावनी अन्तराष्ट्रिय मुद्राकोषले दिइरहेको सन्दर्भमा विदेशी मुद्राको संचित जोगाउन राष्ट्र बैंकले यस्तो पहल गरेको हो ।