राष्ट्र बैंकको क्रसहोल्डिङ परिभाषाः निजी क्षेत्रलाई पेल्ने, २ सरकारी निकायले १७ बैंक चलाउने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै लगानीकर्ताले एकभन्दा बढी बैंक वित्तीय संस्थाको संस्थापक (प्रमोटर) सेयरमा लगानी गर्न नपाइने व्यवहार गरिरहेको छ । एउटै लगानीकर्ताको एकभन्दा बढी बैंक वित्तीय संस्थाको प्रमोटर सेयरमा धेरै लगानी देखिए त्यस्तो लगानीलाई क्रसहोल्डिङ भन्दै राष्ट्र बैंकले त्यस्ता बैंक वित्तीय संस्थाबीच मर्जर गर्ने गराउने अभियान थालेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि क्रसहोल्डिङ रहेका बैंक वित्तीय संस्थाहरु एकापसमा मर्ज गराउने संकेत गरिएको छ । राष्ट्र बैंकको अहिलेको परिभाषा अनुसारको क्रसहोल्डिङ भएका बैंक वित्तीय संस्थाका प्रमोटरहरु जबरजस्ती मर्जरमा जानुपर्ने त्रासमा छन् । राष्ट्र बैंकको यस्तो परिभाषाले आफूहरुको लगानी विविधिकरण गरी जोखिम कम गर्ने व्यवस्थापकीय कौशल र लगानी सिद्धान्त विपरित हुने र संविधान प्रदत्त आर्थिक अधिकार कुण्ठित हुने लगानीकर्ताले बताउँदै आएका छन् । निजी लगानीकर्ताको लगानी विविधिकरणलाई क्रसहोल्डिङको परिभाषा दिएर त्रास उत्पन्न गरिरहेको राष्ट्र बैंक सरकारी निकायको लगानीप्रति भने बेखबर जस्तै बनेको छ । दुईवटा सरकारी निकाय (कर्मचारी संचय कोष र नागरिक लगानी कोष) ले अहिले संचालनमा रहेका १७ वाणिज्य बैंकको प्रमोटर सेयरमा लगानी गरेको भएपनि यी दुई निकायप्रति भने राष्ट्र बैंक मौन छ । राष्ट्र बैंकले उसको अहिलेको परिभाषा अनुसारको क्रसहोल्डिङ रहेका बैंक वित्तीय संस्थालाई मर्जर गराउने हो भने २ सरकारी निकायले लगानी गरेका १७ वाणिज्य बैंकलाई एकापसमा मर्ज गराए बढीमा २ वटा बैंक बनाउनु पर्छ । ‘सरकारको शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक, प्रमुख लगानी रहेको कृषि विकास बैंक र नेपाल बैंकबीच पनि मर्जर हुन सकेको छैन, सरकार आफैले तीनवटा बैंक चलाएर बसेको छ, नागरिक लगानी कोष र कर्मचारी संचय कोषले १७ वटा वाणिज्य बैंकको प्रमोटर सेयरमा राम्रै लगानी गरेका छन्, यो सन्दर्भप्रति बेवास्ता गर्दै हामीलाई भने तिमीले एकभन्दा बढी बैंकको प्रमोटर सेयरमा लगानी गर्न पाउँदैनौं भनेर प्रतिबन्द लगाउन खोजिदैछ, राष्ट्र बैंकको यस्तो व्यवहारले सरकारले जे गरे पनि हुन्छ, नियम कानुन मान्नु पर्दैन, नागरिकले भने संविधानले दिएको अधिकार पनि हामीले हुन्छ भनेको अवस्थामा मात्रै प्रयोग गर्न पाउँछौं भन्ने गरी राष्ट्र बैंक प्रस्तुत भएको छ, यो ठीक हो जस्तो लाग्दैन, गलत कार्यलाई सार्वजनिक रुपमा बोल्यो भने पनि किन जान्ने भइस् भन्दै राष्ट्र बैंकले कारबाही ठोकिहाल्छ, बोल्न पनि गाह्रो छ,’ एक वाणिज्य बैंकका प्रमोटरले भने । कर्मचारी संचय कोषको कुन बैंकमा कति लगानी छ ? कर्मचारी संचय कोषले ११ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक गरी १३ वटा बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरमा लगानी गरेको छ । कोषले प्रमोटर सेयरमा गरेको लगानी २२ अर्ब रुपैयाँभन्दा बढी रहेको कोष स्रोतले जानकारी दिएकोछ । कोषले कुन कुन बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको कति प्रतिशत प्रमोटर सेयरमा लगानी गरेको छ भन्ने विवरणः हिमालयन बैंकः १४ प्रतिशत एसबीआई बैंकः १५ प्रतिशत बैंक अफ काठमाडूः १५ प्रतिशत एनएमबी बैंकः ६ प्रतिशत सिभिल बैंकः ८ प्रतिशत प्रभु बैंकः ४ प्रतिशत नेपाल बैंकः ४ प्रतिशत सानिमा बैंकः २ प्रतिशत कुमारी बैंकः ३ प्रतिशत इन्भेष्टमेन्ट बैंकः करिब १ प्रतिशत सनराइज बैंकः १ प्रतिशत सिन्धु विकास बैंकः ६ प्रतिशत महालक्ष्मी विकास बैंकः १ प्रतिशत नागरिक लगानी कोषको कुन बैंकमा कति लगानी छ ? नागरिक लगानी कोषले ६ वटा वाणिज्य बैंकको प्रमोटर सेयरमा १ अर्ब ९० करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । नागरिक लगानी कोषले कुन कुन बैंकमा कति रकम बराबरको प्रमोटर सेयरमा लगानी गरेको छ भन्ने विवरणः बैंक अफ काठमाण्डूः रु. १७.९८ करोड सिटिजन्स बैंकः रु. २८.२१ करोड एनसीसी बैंकः रु. ३६।६४ करोड लक्ष्मी बैंकः रु. ६७.३७ करोड इन्भेष्टमेन्ट बैंकः रु. ३७.४९ करोड एनआइसी एसिया बैंकः रु. ३.०६ करोड कूलः रु. १९०.७८ करोड सम्बन्धित सामग्री राष्ट्र बैंकले उठाएको क्रस होल्डिङ तरवार र यस भित्रको खुन राष्ट्र बैंकको परिभाषा अनुसारको क्रस होल्डिङः ६ वाणिज्य बैंकमा नागरिक लगानी कोषको झण्डै २ अर्ब प्रमोटर सेयर ११ वाणिज्य बैंकमा सञ्चय कोषको उल्लेख्य लगानी, क्रस होल्डिङ नराख्ने राष्ट्र बैंकको अभियानमा अवरोध एनआइसी एसिया र एनएमबीबीच मर्ज भए कस्तो बैंक बन्ला ? हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्ज भए कस्तो बैंक बन्ला ?

कनेक्ट आइपिएसमा थप ९ बैंकका खाता अनलाइन भेरीफाई गर्न सकिने

काठमाडौं । कनेक्ट आइपिएसमा बैंक खाता लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाइ गर्ने सुविधा थप बैंक वित्तिय संस्थाहरुमा उपलब्ध भएका छन् । यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको छ भने अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रकृया भइरहेको कनेक्ट आइपिएसले जनाएकाे छ । यस अनलाइन सुविधासँगै बैंक वित्तिय संस्थाका ग्राहकहरुले कनेक्ट आइपिएसमा लिंक गरिएको खाता भेरिफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् । बैंकका ग्राहकले कनेक्ट आइपिएसमा लिंक अकाउन्टभित्र आफ्नो खाता लिंक गरिसकेपछि म्यानेज अकाउन्ट भित्र सेल्फ भेरिफाईमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्नेछन् ।

नेपाल बैंक र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिकाबीच उद्यमशिलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले उक्त गाउँपालिकाले संचालन गर्न लागेको उक्त कार्यक्रममा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतामा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालले हस्ताक्षर गरेका हुन् । गाउँपालिकाले संचालन गर्न लागेको “अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम” ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रवर्द्धनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसाय लगाएतका अन्य पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासकालागी आवश्यक सहयोग प्रदानगरी गाँउपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रवर्द्धन गर्न सहयोग पुग्नेछ । उक्त गाउँपालिका क्षेत्रका गाउँपालिकाको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँबासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागी ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैंकबीच उक्त सम्झौता भएको हो । गाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंक पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ । नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, चालु आर्थिक वर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।