नेपाल बैंकले असोज १९ गते डाक्यो विशेष साधारण सभा, यस्ता छन् विशेष प्रस्ताव
काठमाडौं । नेपाल बैंकले आगामी असोज १९ गते (सोमबार) विशेष साधारण सभा डाकेकाे छ । बैंकले सो दिन बिहान ११ बजे भिडियो कन्फ्रेन्स (भर्च्युअल जुम मिटिङ) मार्फत सभा गर्ने निर्णय गरेको हो । उक्त निर्णय भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । सो सभामा सहभागी हुन चाहने सेयरधनीलाई जुम आईडी तथा पासकोड उपलब्ध गराउने बैंकले जानकारी गराएको छ । सभामा बैंकले विभिन्न दुई वटा विशेष प्रस्ताव पेश गरेको छ । पहिलो, बैंकको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गर्ने अर्थात नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ कायम गर्ने विशेष प्रस्ताव रहेको छ । त्यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकको आगामी असोज ८ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुने छ । यससँगै असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई सेयर नामसारी भएका सेयरधनीले मात्र बैंककाे विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।
काठमाडौंमा सिद्धार्थ बैंकको नयाँ शाखा
काठमाडौं । सिद्धार्थ बैंकले आज(असोज १ गते) काठमाडौं स्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरीरहेको छ । सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।
गरिमा विकास बैंकले एकैदिन सञ्चालनमा ल्यायो ६ वटा नयाँ शाखा
काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ गतेमात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । विकास बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाडौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । यससंगै विकास बैंकले काठमाडौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सबै प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।