
काठमाडौं । नेपाल बैंकले आगामी असोज १९ गते (सोमबार) विशेष साधारण सभा डाकेकाे छ । बैंकले सो दिन बिहान ११ बजे भिडियो कन्फ्रेन्स (भर्च्युअल जुम मिटिङ) मार्फत सभा गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । सो सभामा सहभागी हुन चाहने सेयरधनीलाई जुम आईडी तथा पासकोड उपलब्ध गराउने बैंकले जानकारी गराएको छ ।
सभामा बैंकले विभिन्न दुई वटा विशेष प्रस्ताव पेश गरेको छ । पहिलो, बैंकको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गर्ने अर्थात नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बढाई ३ कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्ने भएको छ ।
सो प्रयोजनको लागि बैंकको आगामी असोज ८ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुने छ । यससँगै असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई सेयर नामसारी भएका सेयरधनीले मात्र बैंककाे विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।