सिटिजन्स बैंकले शुरू गर्याे स्क्यान एण्ड विथड्र सेवा, चेक बिनै खाताबाट रकम झिक्न सकिने 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ । ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरुवात गरेको हो । स्क्यान एण्ड विथड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्यारम्भ भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएका छन् । नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथ साथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान एण्ड विथड्र सेवा प्रयोगमा ल्याईएको हो । यसको प्रयोगसँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

बैंकका कर्मचारी मालामालः दशैंभत्ता र बोनस एकै पटक, कोरोनाले छोएन आम्दानी

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको आम्दानीमा खासै असर नपार्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा राेकथामका लागि सरकारले गरेकाे लकडाउन तथा निषेधाज्ञाले धेरैकाे रोजगारी गुमेको, धेरैले बेतलवी घरमै बस्नु परेको र धेरैको तलब कटौति भैहरेको बेला बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुले भने यो समयमा पनि दशैं भत्ता र बोनस पाउने भएका हुन् । कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा खासै असर नगरेकोले पनि सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई बोनस सँसँगै दशैं भत्ता अर्थात एक महिनाको तलब अतिरिक्त दिने योजना बनाएका हुन् । नविल बैंकका डेपुटी जनरल म्यानेजर (डीजीएम) मनोज ज्ञवालीले अहिले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु आफ्ना कर्मचारीहरुलाई दशैं भत्ता दिन सक्ने अवस्थामा भएको बताए । ‘कर्मचारीको कुनै पनि तलब, सेवा सुविधा तथा भत्ता घटेको छैन, अब दशैंमा पनि सबै बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई भत्ता दिन सक्ने क्षमता राख्छन्, कुनै पनि संस्थामा दिन नसक्ने समस्या आउँदैन’ उनले भने । कर्मचारीहरुलाई तलब तथा भत्ता नै दिन नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था नरहेको उनको भनाई छ । ‘त्यो अवस्था आउनु भनेको देशको अर्थतन्त्र नै ध्वस्त हुनु हो, त्यति धेरै समस्या बैंकमा छैन,’ उनले भने । रोजगारको टर्म अनुसार नै पाएको सुविधा भएकाले कर्मचारीलाई दिने भत्ता अतिरिक्त समेत नभएको उनको भनाई छ । तोकिएको व्यवस्था नै भएकोले कर्मचारीले निर्वाद रुपमा दशैं भत्ता पाउने उनले बताए । नेपालमा दशैंको बेला कर्मचारीले एक महिनाको अतिरिक्त तलब पाउने गरेका छन् । सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुलाई एक महिना बराबरको तलब दिने प्रचलन छ । अहिले धेरै संस्थाहरुले कर्मचारीलाई दशैं भत्ता दिन सक्ने अवस्था न्यून छ । किनकि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ती संस्थाहरुको व्यापार व्यवसाय ठप्प बनाएको छ भने कारोबार र आम्दानी धेरैको शून्य नै छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुकाे नाफा घट्ने देखिए पनि कर्मचारीकाे भत्ता नै कम हुने अवस्था नभएको बैंकरर्सले प्रतिक्रिया दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले दशैंको भत्ता अनिवार्य रुपमा पाउने उनीहरुले बताएका छन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कर्मचारीहरुको दशैं भत्ता दिन कुनै समस्या नभएको बताए । ‘दशैं जस्तो महान पर्वमा जसले सक्छ, त्यसले दशैं भत्ता दिनै पर्छ, कुनै पनि संस्थामा कर्मचारीलाई भत्ता दिन सक्ने अवस्था नै नभएको हुन सक्दैन’ उनले भने । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरुले कमाएको कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीले पाउने बताए । बैंक तथा वित्तीय संस्थाले गरेको कुल नाफाको १० प्रतिशत  कर्मचारीले बोनस पाउने भएपछि कर्मचारीको आम्दानीमा कोभिड–१९ ले खासै असर नगर्ने पनि उनको भनाई छ । यसरी हेर्दा बैंकका कर्मचारीको आम्दानीमा कोरोनाले कुनै असर नगर्ने देखिन्छ । बैंकले गरेको नाफाको १० प्रतिशत बोनस र एक महिनाको अतिरिक्त तलब वाफतको दशैं भत्ता पाउने भएपछि उनीहरुको आम्दानीमा असर नपर्ने देखिएको हो । कर्मचारीलाई एक दशैंको भत्ता आउँछ अर्कोतर्फ बैंकहरुले त्यही समयमा नाफाबाट गरेको बोनस समेत वितरण गर्छन् त्यसबाट उनीहरुलाई मालामाल हुने देखिन्छ । २७ वटा वाणिज्य बैकहरुमा ४० हजारभन्दा बढी कर्मचारी , २० वटा विकास बैंकमा करिब १० हजारभन्दा र २२ वटा फाइनान्स कम्पनीहरुमा १८ सय जना कर्मचारी कार्यरत छन् । अहिले कतिपय बैंकहरुले साधारणसभा नगरेरै नै कर्मचारीलाई नाफाको बोनस बाडिसकेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अघिल्ला वर्षहरुमा आर्थिक वर्ष सकिएको भोलिपल्टै कर्मचारीलाई बोनस वितरण गर्थे । तर, यो वर्ष भने कोरोनाले भने त्यस्तो गर्न दिएन । हालसम्म आधा दर्जनभन्दा बढी वाणिज्य बैंकले गत आवको नाफाबाट कर्मचारीलाई बोनस दिइसकेका छन् भने कतिले दशैंमा दिने योजना बनाएका छन् । बैंकहरुले साधारणसभा गरे लगत्तै कर्मचारीकाे खातामा बाेनस रकम पठाउने गरेका छन् । बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । बोनस ऐनअनुसार कर्मचारीले नाफाको १० प्रतिशत बोनस पाउने व्यवस्था छ । कतिपय बैंकहरुले साधारणसभा  नगरी एडभान्सको रुपमा अगाडि नै कर्मचारीको खातामा बोनस पठाइरहेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले पनि बैंकका कर्मचारीहरुको दशैं भत्तामा कुनै असर नपर्ने बताए । उनले पनि दशैं भत्ता नै दिन नसक्ने संस्था नभएको बताए । ‘दशैं भत्ता दिने प्रावधान नै छ, त्यही अनुसार नै भत्ता तथा सेवा सुविधा दिने गरिन्छ, राष्ट्र बैंकको हकमा पनि नेपाल सरकारले तोकेको भत्ता पाइन्छ,’ उनले भने ।

एनआईसी एशिया बैंकले ७.७५ प्रतिशत ब्याजदरमा शेयर धिताे कर्जा दिने

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा लोन अगेन्स्ट सेयर को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुमा नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको हो । ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत न्यूनतम रू. १ करोड देखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको जनाएकाे छ । यस अन्तर्गत रू. ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ । सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था बैंकले गरेको जनाएकाे छ । साथै यस कर्जा सम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा loan टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।