काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दावी छ ।
खेम्स क्लिनिङ र ¥यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरु पनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको भनाई छ ।
कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताए । कुनै पनि सामान ३० सेकेण्डदेखि ४ मिनेटसम्ममा डिसइन्फेक्सन गर्न सकिने उनको भनाइ छ ।
मेसिनको न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि मेसिन बजारमा सार्वजनिक भएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसा लगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।
यो मेसिन नेपालमा र्यापिड सर्जिकल सप्लायरले विक्री गरिरहेको छ । सो कम्पनी खेम क्लिनिङका निर्देशक थापाकै हो । यस्तो मेसिन २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने निर्देशक थापाले जानकारी दिए ।
सो मेसिनले अल्टा भोइलेन्स किरण (युभी रे) को प्रयोग गरेर निर्मलीकरण गरिने थापाले जानकारी दिए । विकसित देशहरुमा अस्पतालको खासगरी अप्रेसन थिएटरमा डिसइन्फेक्सन गर्न युभी रेको प्रयोग २० वर्ष अघिदेखि नै हुने गरेको भएपनि नेपालमा भने कोरोना भाइरस महामारीपछि चर्चामा आएको हो ।