नेपाल डेन्टल एसोसिएशनका सदस्यहरुले सांग्रिला बैंकबाट बिना धितो १५ लाखसम्मको कर्जा पाउने
काठमाडाैं । नेपाल डेन्टल एसोसिएशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने भएकाे छ । बैंक र नेपाल डेन्टल एसोसिएशनबीच मंगलबार बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हाे । बैंक र एसोसिएशन बिचकाे सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । यस कर्जा अन्तर्गत कर्जावालाई एक लाख सम्मको कोभिड-१९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट एशाेसिएसनका सदस्यहरुले यो सेवा उपयोग गर्न सक्नेछन् ।
एनआईसीकाे भाइबर क्विजमा सहभागी भई आकर्षक पुरस्कार जिताैं
काठमाडौं । एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण एनआइसी एसिया क्विज योजना सार्वजनिक गरेको छ । यस बैंकका ग्राहक तथा अन्य महानुभावहरूले यस बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् । यस मार्फत भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नुहुने र जति धेरै सही जवाफ दिनुहुन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ । यस योजनामा सहभागी भई सही जवाफ दिनुहुने एक जनालाई रिर्चाजरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएकाे छ । त्यसैगरी पालसोनिको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड ईन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, ईलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुडाकोे तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई एलजिको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू. ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिने बैंकले जनाएकाे छ । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबर एप खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत बैंकको एनआइसि एसिया क्विज योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।
कोरोना प्रभावित सबै उद्योग व्यवसायले वर्किङ क्यापिटल र टर्म लोनमा पनि थप कर्जा पाउने
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण प्रभावित सबै प्रकारका उद्योग व्यवसायले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जा पाउने भएका छन् । यसअघि कोभिड १९ बाट अति प्रभावित उद्योग व्यवसयाले मात्रै चालु पुँजी कर्जा पाइने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरिएको जानकारी गराएको हो । नयाँ व्यवस्था अनुसार चालु पुँजी कर्जा नलिएका ऋणीलाई आवधिक कर्जाको १० प्रतिशतसम्म थप कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योग व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पुँजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र चालु पुँजी कर्जा उपयोग नगरेका ऋणीको हकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिनेछ,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ । तर, कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको विजनेस प्रपोजल आदिको विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न पनि सकिने बाटो राष्ट्र बैंकले खुलाएको छ ।