भेस्पा र एप्रिलियाको नाडा अफर, स्कुटर खरिदमा २८ हजार ५ सयसम्म लाभ

काठमाडौं । भेस्पा र एप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत अटो शो अवधिभर स्कुटर खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ पाउने भएका छन् । भृकुटीमण्डपस्थित टिडब्लुई–११ नम्बर स्टलमा सञ्चालन भइरहेको यो अफर नगद, फाइनान्स र एक्सचेन्ज तीनै माध्यमबाट स्कुटर खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । साथै स्कुटर खरिदकर्तालाई भेस्पा र एप्रिलियाको आकर्षक ल्यापटप ब्याग पनि उपहारस्वरूप प्रदान गरिनेछ ।   यस वर्ष डेल्टा अटोकर्पले आफ्नो स्टललाई इटालियन कफे थिममा सजाएको छ । कम्पनीका अनुसार स्टलमार्फत आगन्तुकलाई प्रिमियम इटालियन जीवनशैली र ब्रान्डको फरक अनुभव दिने प्रयास गरिएको छ ।  नाडा अटो शोमा कम्पनीले एप्रिलिया एसआर १७५ एचपीई पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटरमा आधुनिक प्रविधि र उच्च कार्यसम्पादनको संयोजन गरिएको छ । यससँगै भेस्पा १२५ लाई नयाँ लाइल्याक रङमा र भेस्पा एस १२५ लाई ओरो रङमा सार्वजनिक गरिएको छ । प्रदर्शनीमा एप्रिलियाको स्टर्म १२५, एसआर १६० तथा भेस्पाको जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का विभिन्न भेरियन्ट पनि प्रदर्शनमा राखिएका छन् । डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले नाडा अटो शोमार्फत नयाँ मोडल र विशेष अफर नेपाली ग्राहकसामु ल्याउन पाउँदा उत्साहित रहेको बताए । उनले कफे थिमको स्टल र आकर्षक अफरले आगन्तुकको अटो शो अनुभवलाई थप स्मरणीय बनाउने विश्वास व्यक्त गरे ।

नयाँ ब्रेजासँगै सुजुकीको योजना, स्क्र्याच गर्दा २ लाखसम्म नगद छुट

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प ले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । नाडा अटो शो २०२६ को अवसरमा ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले स्क्र्याच एन्ड विन अफरमार्फत २ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार योजना केही दिनअघि नै सुरु भइसकेको छ । चाडपर्वको समयमा सुजुकी गाडी खरिदलाई थप सहज र लाभदायी बनाउने उद्देश्यले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मतसम्भार (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बीमालगायत सुविधा उपलब्ध गराइएको छ ।   सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै मोडेलअनुसार निःशुल्क एक्सेसरिज, पीएमएस पार्ट्स र एक वर्षको निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध हुनेछ । यो योजना साउन २७ गतेदेखि मंसिर १५ गतेसम्म देशभरका सबै आधिकारिक सुजुकी शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।   कम्पनीका अनुसार अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, फ्रोन्क्स, ग्रान्ड भिटारा र ईभिटारासहित सुजुकीका अधिकांश मोडेल यो योजनामा समेटिएका छन् ।   विद्युतीय एसयूभी ईभिटारा का ग्राहकका लागि ‘फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ छुट्टै सञ्चालनमा रहनेछ । कम्पनीले पहिलो १०० युनिटका ग्राहकलाई सवारीसँगै उपलब्ध हुने ३ किलोवाट स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाट होम चार्जर निःशुल्क उपलब्ध गराउने जनाएको छ । होम चार्जर जडान भने ग्राहकको घरमा प्राविधिक सम्भाव्यता अनुसार गरिनेछ ।    सुजुकीले नाडा अटो शो २०२६ मार्फत नयाँ ब्रेजा नेपाली बजारमा पहिलोपटक सार्वजनिक प्रदर्शनमा राखेको छ ।  कम्पनीका अनुसार अद्यावधिक फिचर, नयाँ पावरट्रेन र सुरक्षा प्रणालीसहित आएको ब्रेजाले भारत एनक्यापको पाँच-तारे सुरक्षा रेटिङ प्राप्त गरेको मोडेल हो । नाडा अटो शो अवधिभर आगन्तुकले नयाँ ब्रेजासहित सुजुकीका सम्पूर्ण मोडेल अवलोकन, अनुभव तथा बुकिङ गर्न सक्नेछन् ।   प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छनोट गरिएका मोडेल बुकिङ गर्ने ग्राहकका लागि २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको स्क्र्याच एन्ड विन अफर पनि उपलब्ध हुनेछ । सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले नाडा अटो शोमा आएर मोडेलअनुसार उपलब्ध सुविधा र सीमित अवधिको अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेका छन् ।

गाडी किन्नेलाई एनआईएमबीको अफर, ५.१३ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सीमित अवधिका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने जनाएको हो । मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार सवारी कर्जा प्रक्रियालाई सहज, छिटो र सर्वसुलभ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। बैंकले यस योजनाअन्तर्गत प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्रै कायम गरेको जनाएको छ । बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजात बुझाएपछि तीन कार्यदिनभित्रै कर्जा स्वीकृत र प्रवाह गरिनेछ। यो सुविधा बैंकका देशभर रहेका सबै शाखामार्फत उपलब्ध हुनेछ । प्रतिस्पर्धी ब्याजदर, न्यून सेवा शुल्क र द्रुत कर्जा स्वीकृतिका कारण नयाँ गाडी खरिद गर्ने योजनामा रहेका ग्राहकलाई यो योजना लाभदायी हुने बैंकको विश्वास छ । बैंकले यो विशेष अटो लोन योजना सीमित अवधिका लागि मात्रै लागू हुने जनाएको छ ।