एमएडब्लू अर्थमुभर्सको देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडौं । नेपालमा जेसीबीका अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले देशभर ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ । सन् २०२० र त्यसअघि बिक्री भएका जेसीबी मेसिन लक्षित अभियान नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार योग्य जेसीबी धनीहरूले तालिमप्राप्त प्राविधिकमार्फत आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन् । यसले मेसिनमा देखिन सक्ने सम्भावित समस्या पहिचान गर्न र भविष्यमा अझ सुरक्षित तथा भरपर्दो सञ्चालन सुनिश्चित गर्न मद्दत गर्नेछ । ग्राहकलाई थप सुविधा स्वरूप एमएडब्लू अर्थमुभर्सले जेन्युइन जेसीबी लुब्रिकेन्ट तथा स्पेयर पार्ट्समा १५ प्रतिशत छुट तथा अधिकृत वर्कसपमा सर्भिस र मर्मतमा विशेष छुट प्रदान गर्ने जनाएको छ । कम्पनीले यो अभियान देशभरका १२ वटा जेसीबी शाखामार्फत सञ्चालन गर्नेछ । धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडस्थित शाखाबाट ग्राहकले नजिकै बसेर सेवा लिन सक्नेछन् । एमएडब्लू अर्थमुभर्सले सबै योग्य जेसीबी मालिकहरूलाई मेसिनको दीर्घायु, सुरक्षा र उत्कृष्ट प्रदर्शनका लागि क्याम्पेनको लाभ उठाउन आग्रह गरेको छ ।

स्वचलित कारमा गेम चेन्जरः अब कार आफै सोचेर चल्ने, एनभीडीयाको  सफ्टवेयर सार्वजनिक

काठमाडौं । एनभीडीयाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का नयाँ ‘रिजनिङ’ (तर्क–आधारित) प्रविधि प्रयोग गरेर स्वचालित सवारीसाधन विकासलाई तीव्र बनाउने उद्देश्यले नयाँ खुला स्रोत सफ्टवेयर सार्वजनिक गरेको छ । एनभीडीया अहिले विश्वकै सबैभन्दा धेरै मूल्यवान कम्पनी बनेको छ, किनकि यसको चिपहरू एआई विकासको मुख्य प्रवाहमा पुगेका छन् । तर कम्पनीले खुला स्रोत एआई कोड सार्वजनिक गर्ने ठूलो सफ्टवेयर अनुसन्धान इकाइ पनि सञ्चालन गर्छ, जसलाई पलान्टिर टेक्नोलोजीजजस्ता कम्पनीहरूले अपनाउन सक्छन् । सोमबार एनभीडीयाले स्वचालित सवारीसाधनहरूका लागि अल्मायो– आरवान सार्वजनिक गर्यो । यो सफ्टवेयरलाई ‘भिजन–ल्याङ्गवेज–एक्सन’ एआई मोडेल भनिन्छ, जसको अर्थ सवारीसाधनका सेन्सरहरूले सडकमा देखेको दृश्यलाई प्राकृतिक भाषामा वर्णनमा रूपान्तरण गर्छ । पेरुको कठिन आरोहणका लागि चिनिने एक डाँडाको नामबाट राखिएको अल्मायो मोडेलको विशेषता भनेको यसले आफ्नो बाटोको योजना बनाउँदा आफैसँग ‘निकै सोच्ने’ अर्थात् ‘थिंक–अलाउड’ क्षमता राख्छ । उदाहरणका लागि यदि कारले साइकल लेन देख्यो भने यसले लेन देखेको र आफ्नो मार्ग समायोजन गर्दै गरेको विवरण आफैलाई बताउँछ । पहिलेका धेरै स्वचालित सवारी सफ्टवेयरहरू कारले किन मार्ग रोज्यो भन्ने विषयमा सीमित व्याख्या दिन्थे, जसले इन्जिनियरहरूले समस्या पहिचान गर्न र सुरक्षित बनाउन कठिन पार्थ्यो । यसलाई खुला (ओपन–सोर्स) बनाउने प्रमुख उद्देश्यहरूमध्ये एक भनेको विकासकर्ता र अनुसन्धानकर्ताहरूले यी मोडेलहरू कसरी काम गर्छन् भन्ने बुझून् र उद्योगका रूपमा हामीले मूल्यांकनका साझा मानकहरू विकास गर्न सकौं भन्ने हो,’ स्वचालित सवारीसाधन सिमुलेशनका उत्पादन मार्केटिङ प्रबन्धक केटी वासाबघले रोयटरसँग भनिन् ।

देशभर १७ सेवा केन्द्रसहित फोटोनको ‘टोटल केयर’ सेवा विस्तार

काठमाडौं । फोटोनले ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउन ‘फोटोन टोटल केयर’ सेवा विस्तार गर्दै नेपालभर आफ्टर–सेल्स सञ्जाललाई मजबुत बनाएको छ । बिक्रीपछिको सम्पूर्ण सेवा समेटिने यस कार्यक्रममार्फत कम्पनीले गाडी खरिदपछि दीर्घकालीन सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ । फोटोनले देशभर १७ वटा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ, जसले शहरदेखि ग्रामीण बस्तीसमेतका ग्राहकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ । प्रशिक्षित प्राविधिक, छिटो सेवा र जेन्युइन स्पेयर पार्ट्सको पहुँचले ब्रान्डप्रति उपभोक्ताको विश्वास बढेको कम्पनीको दाबी छ । ‘फोटोन टोटल केयर प्रमिस’ अन्तर्गत ग्राहकले भरपर्दो मर्मत तथा सर्भिस, जेन्युइन पार्ट्स, वारेन्टी, रोडसाइड असिस्टेन्स र डेडिकेटेड कस्टमर केयरसमेत एकै स्थानबाट पाउन सक्छन् । यसले सवारी साधनको डाउनटाइम घटाउने, दक्षता बढाउने र व्यवसायिक प्रयोजनका गाडी प्रयोगकर्तालाई मानसिक शान्ति दिलाउने कम्पनीको विश्वास छ । फोटोन गाडीका लागि विशेष तालिम प्राप्त प्राविधिक र १०० प्रतिशत जेन्युइन पार्ट्स प्रयोगसँगै कम्पनीले गाडीको आयु, सुरक्षा र टिकाउपनामा विशेष ध्यान दिएको जनाएको छ । ग्राहकमैत्री पहलहरूसँगै फोटोनले सर्भिस क्याम्प, क्विक–रेस्पोन्स हेल्पलाइन र नियमित फलो–अपमार्फत सेवा प्रभावकारी बनाउँदै आएको छ । अगस्ट १० देखि सेप्टेम्बर अन्त्यसम्म सञ्चालन गरिएको ‘मेगा मनसुन सर्भिस क्याम्प’ पनि कम्पनीको प्रमुख गतिविधिमध्ये एक थियो, जसमा देशभर चेकअप, सर्भिस सपोर्ट र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो ।  फोटोनले ‘टोटल केयर’ कार्यक्रममार्फत विश्वसनीय सेवा, उच्च गुणस्तर र छिटो उपलब्धतासहित उपभोक्तालाई निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।