टर्बो बुस्टरजेट इन्जिनसहित आयो सुजुकी ब्रेजा, नाडा अटो शोमा हेर्न पाइने
काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै ल्याइएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । नयाँ ब्रेजा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०८३ मा प्रदर्शन गरिनेछ । सुजुकी प्याभिलियनको स्टल बी८२ मा ग्राहकले गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । साथै टेस्ट ड्राइभ बुकिङ र अन्य मोडेलका सुविधाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ । टर्बो इन्जिन र नयाँ ट्रान्समिसन नयाँ ब्रेजामा टर्बो बुस्टरजेट इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ५ हजार ५०० आरपीएममा अधिकतम ८१ किलोवाट शक्ति उत्पादन गर्छ । २ हजारदेखि ३ हजार ५०० आरपीएममा १७० न्युटन–मिटर टर्क उत्पादन गर्छ । इन्जिनलाई नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । यसले सहरदेखि राजमार्गसम्म सहज र प्रभावकारी ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ । ब्रेजामा स्मार्ट हाइब्रिड प्रविधिसहितको १.५ लिटर ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनको विकल्प पनि छ । यसमा ६–स्पिड म्यानुअल र स्टियरिङमा प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन उपलब्ध छ । नयाँ डिजाइन र प्रिमियम इन्टेरियर नयाँ ब्रेजाको बाहिरी डिजाइनमा पनि परिवर्तन गरिएको छ । यसमा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, नयाँ स्किड प्लेट र परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङ दिइएको छ । नयाँ प्रिसिजन–कट अलोय ह्विलले गाडीलाई थप आकर्षक बनाएको छ । भित्र गाढा खैरो र कालो ड्युअल–टोन थिम प्रयोग गरिएको छ । मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट र प्लस लेदरेट सिट दिइएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम२.५ फिल्टर, वायु गुणस्तर डिस्प्ले र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधा पनि छन् । १०.१ इन्चको स्मार्ट इन्फोटेनमेन्ट प्रणाली नयाँ ब्रेजामा २५.६५ सेन्टिमिटर अर्थात् १०.१ इन्चको टचस्क्रिनसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणाली छ । यसमा इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ । आर्कामिसद्वारा ट्युन गरिएको प्रिमियम स्पिकर र ६४ रङमा मिलाउन सकिने एम्बियन्ट लाइटिङ पनि राखिएको छ । सुरक्षामा पनि विशेष ध्यान नयाँ ब्रेजामा अल्ट्रा हाई–टेन्साइल र हाई–टेन्साइल स्टिलको प्रयोग गरिएको कम्पनीले जनाएको छ । सुरक्षा सुविधाअन्तर्गत ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङ छन् । तीनवटा नयाँ भ्युसहितको ३६० डिग्री क्यामेरा र अगाडि–पछाडिका पार्किङ सेन्सरले पार्किङलाई सहज बनाउने कम्पनीको भनाइ छ । नयाँ सुजुकी ब्रेजाले भारत एनसीएपीमा वयस्क र बालबालिका दुवैको सुरक्षातर्फ ५–स्टार रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । दुई नयाँ रङ थप नयाँ ब्रेजामा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन् । यससँगै पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ । ड्युअल–टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहितको लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ ब्रेजा सुजुकी नेपालका अधिकृत सोरुमहरूमा उपलब्ध हुनेछ । ग्राहकले नजिकैको सुजुकी सोरुममा सम्पर्क गरी थप जानकारी तथा टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन् ।
नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै
काठमाडौं । विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार नयाँ नामी बक्सलाई थप परिष्कृत डिजाइन, नयाँ सुविधा र आधुनिक प्रविधिसहित नेपाली बजारमा ल्याउन लागिएको हो । गाडीका सबै फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शोमै सार्वजनिक गरिनेछ । नामी बक्स पहिलोपटक सन् २०२४ मा नेपालमा सार्वजनिक भएको थियो । आकर्षक डिजाइन, जीवन्त रङ, लामो रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण यो छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल नेपालका सडकमा २ हजारभन्दा बढी नामीका विद्युतीय सवारी सञ्चालनमा छन् । यसले नेपाली इभी बजारमा नामीको बलियो उपस्थिति स्थापित गरेको कम्पनीको दाबी छ । यसअघि नामी भिगो ई२ सार्वजनिक गरेपछि कम्पनीले अब नयाँ नामी बक्समार्फत आफ्नो इभी लाइनअप विस्तार गर्न लागेको जनाएको छ । नयाँ मोडलले नेपाली उपभोक्तालाई अझ आकर्षक र सुविधासम्पन्न विकल्प दिने कम्पनीको अपेक्षा छ । नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स कम्पनीको मुख्य आकर्षणमध्ये एक रहने बताइएको छ ।
बदलिएको अटो क्षेत्र, नाडा अटोशोमा मेड इन नेपालका ८ प्रडक्ट
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापना भएको दुई वर्षपछि सन् १९७७ मा नेपालमा एक वर्षमा जम्मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । आज देशभर करिब ५५ लाख सवारीसाधन दर्ता छन् । नयाँ सवारीसाधन दर्तामध्ये करिब ८४ प्रतिशत मोटरसाइकल छन् । यी दुई तथ्याङ्कबीच करिब पाँच दशकको अन्तर छ । यो परिवर्तन कुनै एकैपटकको योजनाबाट आएको होइन । दशकौँको विस्तारसँगै नेपालको अटोमोबाइल क्षेत्रले ठूलो आर्थिक तथा व्यावसायिक संरचना निर्माण गरेको छ । विगत पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ । त्यसबाट करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको नाडाले जनाएको छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै यस क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ । राजस्वबाहेक अटोमोबाइल क्षेत्रले देशभर ठूलो व्यावसायिक संरचना विस्तार गरेको छ । प्रत्येक प्रदेशसम्म फैलिएको डिलर सञ्जाल, पार्ट्स तथा आफ्टरमार्केट आपूर्ति शृंखला, तालिमप्राप्त मेकानिक र सर्भिस टेक्निसियन, सवारी खरिदलाई सहज बनाउने अटो फाइनान्स तथा आम उपभोक्तासम्म पुगेको सवारी बीमा यस क्षेत्रका महत्वपूर्ण पक्ष हुन् । त्यस्तै, उत्सर्जन, सुरक्षा तथा करसम्बन्धी नीतिमा सरकारसँगको निरन्तर संवाद पनि यस क्षेत्रको विकाससँग जोडिएको छ । यी संरचना एकैपटक बनेका होइनन् । यसका लागि दशकौँ लागेको छ । तर पछिल्ला केही वर्षमा नेपालको अटोमोबाइल क्षेत्रको कथा विस्तारै बदलिन थालेको छ । नाडाले मंगलबारदेखि नाडा अटो शो-२०२६ को आयोजना गर्दैछ । नाडाको ५०औं स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना गरिँदैछ । नाडाको स्वर्ण जयन्ती संस्करणमा रहने ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिँदैछ । करिब ८ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरिने जनाइएको छ । यसमा यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका उत्पादक सहभागी छन् । स्वदेशी उत्पादनसँगै नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तर उपस्थिति रहने नाडाले जनाएको छ । ‘हामीले दिन खोजेको सन्देश यही हो, नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौँ,’ नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले भने ।