काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ ।
यी दुई मोडलमार्फत नेपालमा भारी तथा व्यावसायिक सवारीसाधनमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने कम्पनीको लक्ष्य छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक र हलुका व्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ समेत विस्तार हुन थालेको अवस्थामा जगदम्बा मोटर्सले नयाँ मोडल ल्याउन लागेको हो ।
कम्पनीका अनुसार एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि प्रयोग गर्न सकिनेछ । त्यस्तै, एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि लक्षित गरिएको छ ।
दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको छ । साथै, छिटो चार्ज गर्न सकिने सुविधा र स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको कम्पनीले जनाएको छ ।
यी सुविधाले व्यावसायिक प्रयोगकर्तालाई सवारीसाधन सञ्चालनको समय व्यवस्थापन गर्न सहज बनाउनुका साथै विभिन्न कार्य वातावरणमा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्याक्म्यानका यी दुई विद्युतीय मोडल नेपाल आएपछि भारी तथा औद्योगिक यातायातका क्षेत्रमा विद्युतीय सवारीसाधनको नयाँ विकल्प थपिने कम्पनीको भनाइ छ ।
एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक प्रदर्शन, बजारमा उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।