रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, मूल्य ५ लाख ९९ हजार
काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ । विशेष गोरखा ग्रीन रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ । क्लासिक ३५० को परिचित डिजाइनलाई निरन्तरता दिँदै गोरखा विरासत झल्काउने केही विशेष डिजाइन र फिचर थपिएका छन् । रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए । उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ । यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको उनले बताए । नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । गोरखा एडिसनले नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ । क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ । सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लचसमेत उपलब्ध छ । मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । उक्त कलेक्सनमा गोरखा विरासतबाट प्रेरित राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन् । कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ । गोरखा ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
‘हामी उत्पादनसँगै ग्राहकको भरोसा पनि बेचिरहेका छौं’
भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को १८औं नाडा अटो शोको आयोजना हुँदैछ । अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । नाडाका अनुसार २ सय वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा गाडीसँगै रोबोट र विभिन्न कम्पोनेन्टहरू पनि रहनेछन् । यसै सन्दर्भमा अटाे क्षेत्रको ठूलो घराना एमएडब्लु वृद्धि ग्रुपले आउँदै गरेको नाडा अटो शोमा कुन कुन ब्राण्डहरू प्रदर्शनीमा राख्दैछ ? अवलोकनकर्ताले यसपटक एमएडब्लु वृद्धिका स्टलहरूमा नयाँ अनुभव र फरक के पाउनेछन् ? एमएडब्लु वृद्धिको उपस्थिति कस्तो रहनेछ ? यिनै समग्र विषयमा एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् । नाडा अटो शोमा तपाईंको तयारी के-कस्तो छ ? हामी धेरै उत्साहित छौं । वास्तवमा भन्नुपर्दा नाडा अटो शो हाम्रो लागि सधैं विशेष रहँदै आएको छ । गत वर्ष पनि हामीले यसमा सहभागिता जनाएका थियौं र ग्राहकहरूबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका थियौं । यो वर्ष पनि हामीले नाडा अटो शोमा निकै उत्साहजनक र भव्य उपस्थितिको अपेक्षा गरेका छौं । हाम्रो तयारी निकै व्यापक छ । यसपटक हामीले डोङफेङका लागि एउटा ठूलो र आकर्षक स्टल राखेका छौं । त्यहाँ हामीले भर्खरै सार्वजनिक गरिएको नामी बक्स र भिगो ई-टु मात्र प्रदर्शन गर्ने छैनौं । डोङफेङले अहिलेसम्म उत्पादन गरेका उत्कृष्ट गाडीहरूमध्येको एक एम-हिरोलाई पनि विशेष आकर्षणको रूपमा राख्दै छौं । एम–हिरो धेरैले प्रतीक्षा गरिरहेको गाडी हो । यसको उपस्थितिले नाडा अटो शोमा छुट्टै रौनक थप्नेछ भन्ने हाम्रो विश्वास छ । १८औं नाडा अटो शो अघिल्ला संस्करणहरूभन्दा यसपटक कसरी फरक हुनेछ ? अवलोकनकर्ताहरूले एमएडब्लु वृद्धिका स्टलहरूमा कस्तो नयाँपनको अनुभव गर्न पाउनेछन् ? पक्कै पनि यसपटकको नाडा अटो शोमा नयाँपन धेरै हुनेछ । यो संस्करणमा नयाँ उत्पादनहरूको बाहुल्यता रहनेछ । जसमा कुनै शङ्का छैन । हाम्रा जति पनि ब्रान्डका स्टलहरू हुनेछन्, ती हरेकमा ग्राहकले कम्तीमा एउटा यस्तो नयाँ गाडी देख्न पाउनुहुनेछ, जुन उहाँहरूले पहिले कहिल्यै देख्नुभएको छैन । हामीले केवल गाडीहरू प्रदर्शन गर्नेमात्र होइन, एउटा अन्तरक्रियात्मक वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौं । जहाँ हाम्रा दक्ष प्रतिनिधिहरूले ग्राहकलाई प्रत्येक गाडीको प्रविधि, सुविधा र उपयोगिताबारे निकै गहिराइमा गएर बुझाउनुहुनेछ । हामी चाहन्छौं कि अवलोकनकर्ताहरूले त्यहाँ पुग्दा एउटा नयाँ प्रविधिको संसारमा पुगेको अनुभव गरून् । यसपटकको अटो शोमा कुन-कुन ब्रान्ड र मोडलहरूलाई विशेष प्राथमिकतामा राखिएको छ ? हामीसँग ब्रान्डहरूको ठूलो पोर्टफोलियो छ । नाडा अटो शोमा हामीले नामीलाई त मुख्य प्राथमिकतामा राखेका छौं । यसका साथै दिपल, स्कोडा, यामाहा र फोटोनजस्ता ब्रान्डहरूलाई पनि उत्तिकै महत्त्वका साथ प्रदर्शन गर्नेछौं । नामीले ईभी सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । दिपालले प्रिमियम र आधुनिक प्रविधिको प्रतिनिधित्व गर्छ । स्कोडा र यामाहाले आफ्नो गुणस्तर र विरासतलाई निरन्तरता दिइरहेका छन् । फोटोनका पनि नयाँ र उपयोगी सवारीहरू ग्राहकले देख्न पाउनुहुनेछ । यसरी हेर्दा हामीले सबै प्रकारका ग्राहकहरूको चाहनालाई सम्बोधन गर्ने गरी तयारी गरेका छौं । गत वर्ष तपाईंहरूले चाङ्गनको उड्ने कार ल्याउनुभएको थियो, जसमा मानिसहरूको निकै भिड लागेको थियो । यसपटक त्यस्तै कुनै आश्चर्यजनक वस्तु वा गाडी ल्याउने सोच छ कि ? पक्कै पनि गत वर्षको अटो शोमा उड्ने कारले धेरैको ध्यान तानेको थियो । त्यो एउटा प्रविधिको नमूना थियो । तर यो वर्ष हामीले उड्ने कारभन्दा पनि गुड्ने कारहरूमा बढी केन्द्रित भएका छौं । हामीले नेपाली सडकका लागि उपयुक्त धेरै नयाँ र आकर्षक मोडलहरू ल्याएका छौं । मलाई विश्वास छ, यसपटकका हाम्रा नयाँ मोडलहरू देखेर पनि ग्राहकहरू र अवलोकनकर्ताहरू उत्तिकै प्रभावित हुनुहुनेछ । नाडा अटो शोमै सार्वजनिक वा लन्च हुने नयाँ मोडलहरू कुन-कुन हुन् ? धेरै कुराहरू त नाडा शोमै देख्नुहुनेछ । तर केही झलकहरू म दिन्छु । हाम्रो एम–हिरो त छँदैछ । भिगो इ–टु को संस्करण पनि आइसकेको छ । सबैभन्दा नयाँ कुरा दिपलको नयाँ गाडी दिपल नेभो क्यू जिरो फाइभ आउँदै छ । यो प्रतिस्पर्धात्मक सेग्मेन्टमा र निकै आकर्षक मूल्यमा उपलब्ध हुनेछ । यो गाडी विशेष गरी कार्यकारी व्यक्तिहरूले रुचाउने खालको अत्यन्तै आरामदायी र प्रविधिमैत्री हुनेछ । यस्तै, स्कोडामा हामीले कुशाक र काइलाक गरी दुईवटा नयाँ गाडीहरू राख्दैछौं । मोटरसाइकलतर्फ यामाहाको नयाँ बाइक एक्सएसआर १५५ पनि हामीले ल्याउँदै छौं । त्यसैले यसपटकको प्रदर्शनी उत्पादनहरूको हिसाबले निकै सुसज्जित हुनेछ । बुधबारबाट सार्वजनिक भएको नामीको भिगो ई-टुको पर्फर्मेन्स र नेपाली भूगोलमा यसको सान्दर्भिकता कस्तो छ ? कतिपयले अझै पनि इभीले पहाडी बाटो धान्दैन कि भन्ने आशङ्का गर्छन् नि ? यो निकै सान्दर्भिक प्रश्न हो । नामी भिगो ई-टु को पर्फर्मेन्स उत्कृष्ट छ । म के स्पष्ट पार्न चाहन्छु भने हाम्रा गाडीहरूले नेपालका सबैभन्दा कठिन मानिने भूगोलहरू मनाङ, मुस्ताङ र सोलुखुम्बु जस्ता ठाउँहरूको यात्रा सफलतापूर्वक गरिसकेका छन् । यी गाडीहरूले ती कठिन सडकहरूमा आफूलाई प्रमाणित गरिसकेका छन् । मैले एउटा अर्को महत्त्वपूर्ण तथ्याङ्क पनि सेयर गर्न चाहन्छु । हाम्रा नामी गाडीहरूमध्ये केही त यस्ता छन्, जसले दुई वर्षको छोटो अवधिमा ७० हजार किलोमिटरभन्दा बढी दूरी पार गरिसकेका छन् । एउटा गाडीका लागि योभन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ? यो आफैमा एउटा प्रोभन भेइकल र भरपर्दो एसयूभी हो । नेपाली सडक र वातावरणका लागि यो पूर्ण रूपमा उपयुक्त छ । हाल नेपाली सडकमा नामीका ईभीहरू कति संख्यामा गुडिरहेका छन् ? हालसम्म नेपाली सडकमा नामीका २ हजारभन्दा बढी विद्युतीय सवारीहरू गुडिरहेका छन् । यो संख्याले देखाउँछ कि नेपाली ग्राहकहरूले नामी ब्रान्डमाथि कति ठूलो विश्वास देखाउनुभएको छ । अहिले नेपाली बजारमा पेट्रोलियम (आईसीई) इन्जिन भएका गाडीभन्दा ईभीको क्रेज धेरै देखिन्छ । यसलाई एमएडब्लु वृद्धिले कसरी हेरिरहेको छ ? हामी यसलाई एउटा ठूलो अवसरको रूपमा हेरिरहेका छौं । विश्वव्यापी रूपमै र नेपालमा पनि वातावरणमैत्री र किफायती सवारीको माग बढ्दो छ । हामीले यो अवसरलाई सदुपयोग गर्दै ग्राहकहरूलाई कसरी उत्कृष्ट प्रविधि र सेवा दिन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गरेका छौं । तर, हामीले केवल गाडी बेच्ने कुरामा मात्र ध्यान दिएका छैनौं । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्टर सेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवा हो । गाडी किनेपछि ग्राहकलाई कुनै पनि समस्या नहोस् र उहाँहरूले ढुक्क भएर चलाउन सक्नुहोस् भन्नका लागि हामीले आफ्नो सर्भिस नेटवर्कलाई पनि निकै बलियो बनाएका छौं । हामी उत्पादनसँगै भरोसा पनि बेचिरहेका छौं । के नेपाली सडकमा एमएडब्लु वृद्धिले ईभीको नेतृत्व गर्न सक्ला ? नेपाली अटो बजारमा अहिले ठूलो परिवर्तन आइरहेको छ । केही वर्षअघिसम्म ह्याचब्याक गाडीहरू लोकप्रिय रहे पनि अहिले ग्राहकको आकर्षण एसयूभीतर्फ बढेको छ । सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लूको यात्रा अहिले नेपालको सबैभन्दा ठूलो अटो समूहमध्ये एक बन्न सफल भएको छ । जसरी पहिले पेट्रोल गाडीमा ह्याचब्याकबाट एसयूभीमा सिफ्ट भयो । अब ईभी सेग्मेन्टमा पनि सोही परिवर्तन देखिँदै छ । एमएडब्लुले नेपालको ईभी ट्रान्स्फर्मेसनमा नेतृत्वदायी भूमिका खेल्नेमा हामी विश्वस्त छौं । देशभर चार्जिङ स्टेसन कति छन्, थप्ने योजना के छ ? देशभर हामीसँग हाल २ सयभन्दा बढी चार्जिङ स्टेसनहरू रहेका छन् । यसमा हामीले राम्रो लगानी गरिरहेका छौं । यो वर्षमात्रै १०० वटा थप्ने योजना बनाइरहेका छौं । मलाई लाग्छ, यसमा कसैलाई कसुर नराखिकन सेवा दिइरहेका छौं ।
नामी भिगो ई२ सार्वजनिक, ३५.९९ लाख रुपैयाँमा पाइने
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नामी भिगो ई२ फुल एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो अवधिभरका लागि यसको विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार नाडा अटो शो सकिएपछि भिगो ई२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । थप प्रिमियम सुविधा चाहने ग्राहकले ८ लाख रुपैयाँ थपेर भिगो ई२ प्लस संस्करण रोज्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर–१८ टायरलगायत अतिरिक्त सुविधा उपलब्ध छन् । गाडी सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, निर्देशक पार्थ सिकारिया, प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी तथा प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्त सहभागी थिए । कार्यक्रममा अध्यक्ष अग्रवालले नयाँ राष्ट्रिय बजेटपछि विद्युतीय सवारीमा आएको सकारात्मक प्रभावलाई ग्राहकसम्म पुर्याउने उद्देश्यले भिगो ई२ को मूल्य पुनःसमायोजन गरिएको बताए । उनले कम मूल्यमा पनि फुल एसयूभीको स्पेस, क्षमता र ड्राइभिङ अनुभवमा कुनै सम्झौता नगरिएको दाबी गरे । कम्पनीका अनुसार भिगो ई२ दैनिक सहरी आवतजावतदेखि पारिवारिक तथा लामो दूरीको यात्रालाई लक्षित गरेर तयार गरिएको फुल एसयूभी हो । यसमा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन, २ हजार ७१५ एमएम ह्विलबेस र ५७२ लिटर बुट स्पेस उपलब्ध छ । फिचर्सतर्फ भिगो ई२ मा हिटेड र भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ’ टेलगेट र डीजेआई–सञ्चालित एडास प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ । पर्फर्मेन्सका हिसाबले यसमा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । डब्लूएलटीपी मापदण्डअनुसार यसले एक पटकको चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । साथै १९० एमएम ग्राउन्ड क्लियरेन्स र १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ । एमएडब्लू वृद्धि मोटर्सका अनुसार हाल नेपालभर २ हजारभन्दा बढी नामी ब्रान्डका गाडी सञ्चालनमा छन् । भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीजस्ता विभिन्न भूगोलमा आफ्नो क्षमता प्रमाणित गरिसकेको कम्पनीको दाबी छ । ग्राहकले एमएडब्लू वृद्धि मोटर्सका शोरुम तथा नाडा अटो शोमा रहेको नामी स्टलबाट भिगो ई२ को टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।