बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्दै नाडा

काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पहल थालेको छ ।

बाढीका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको नाडाले जनाएको छ । भन्सार नाका तथा अन्य स्थानमा रहेका आयातित सवारीसाधनमा क्षति पुगेको, केही सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरणलगायत सम्पत्तिमा क्षति पुगेको जानकारी आएको नाडाले जनाएको छ ।

प्रभावित व्यवसायीलाई सहयोग गर्न नाडाले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सम्बन्धित निकायसँग समन्वय सुरु गरेको छ ।

नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । क्षतिको विवरणमा बाढीबाट क्षति भएका तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति तथा बीमा दाबीका लागि आवश्यक कागजातलगायत विवरण समावेश गर्न भनिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले आग्रह गरेको छ ।

प्राप्त विवरणका आधारमा नाडाले बीमा दाबी प्रक्रिया सहज बनाउन बीमा कम्पनीसँग समन्वय गर्ने जनाएको छ । भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग पनि समन्वय गरिने नाडाले जनाएको छ ।

प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकनलगायत सम्भावित सहजीकरणका विषयमा पनि सम्बन्धित निकायसँग पहल गर्ने नाडाको योजना छ ।

त्यसैगरी, अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी राहत, सहजीकरण तथा आवश्यक नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ ।

यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने नाडाले जनाएको छ ।

नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रभावित सदस्य व्यवसायीलाई क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन् ।

Share News